
काठमाडौं । संयुक्त अरब इमिरेट्स (युएई) का उपप्रधानमन्त्री तथा विदेश मन्त्री महामहिम शेख अब्दुल्लाह बिन जायेद अल नाह्यान नेपालको दुईदिने औपचारिक भ्रमणमा मङ्गलबार साँझदेखि काठमाडौंमा छन् ।
उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शरत्सिंह भण्डारी, परराष्ट्र मन्त्रालयका सचिव अमृतबहादुर राई र उक्त मन्त्रालयका अन्य वरिष्ठ अधिकारीहरूले स्वागत गरेका छन् ।
परराष्ट्र मन्त्रालयका अनुसार यहाँ रहँदा युएईका उपप्रधानमन्त्रीले उच्चस्तरीय राजनीतिक भेट गर्नुका साथै उपप्रधानमन्त्री तथा शहरी विकास मन्त्री प्रकाशमान सिंहको नेतृत्वको प्रतिनिधिमण्डलसँग औपचारिक द्विपक्षीय भेटवार्ता गर्ने कार्यक्रम छ ।
उपप्रधानमन्त्री नाह्यानका साथ युएइका परराष्ट्र राज्य मन्त्री अहमद अली मोहम्मद अल सायेघ, आर्थिक तथा व्यापार मामिला सहायक मन्त्री सईद मुबारक राशिद अलहजेरी, ऊर्जा तथा दिगोपन मामिला सहायक मन्त्री अब्दुल्ला बलाला, नेपालका लागि युएईका राजदूत अब्दुल्ला जरवान अलशाम्सी र युएई सरकारका अन्य वरिष्ठ अधिकारीहरू छन् ।
उपप्रधानमन्त्री नाह्यान नेतृत्वको प्रतिनिधिमण्डल आजै अपराह्न युएई प्रस्थान गर्ने कार्यक्रम छ ।