
सोलुखुम्बु। प्रधानमन्त्री केपी शर्मा ओलीले जलवायु परिवर्तनका कारण दुःख र कष्ट भोगिरहेका थामे क्षेत्रका बासिन्दालाई सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।
‘सगरमाथा संवाद’को पूर्वसन्ध्यामा सगरमाथा क्षेत्रको थामे गाउँमा आयोजित ‘आरोही सम्मेलन, जलवायु न्यायका लागि संवाद’ विषयक सम्मेलनलाई आज शुभकामना दिँदै उनले थामेवासीलाई सहयोग गर्ने प्रतिबद्धता जनाएका हुन्।
प्रधानमन्त्री ओलीले आफ्नो शुभकामना सन्देशमार्फत थामेमा आयोजित जलवायु परिवर्तनसम्बन्धी यो सम्मेलनबाट प्राप्त निष्कर्षले ‘सगरमाथा संवाद’को छलफललाई सार्थक र परिणाममुखी बनाउने आशा व्यक्त गरेका छन्।
अन्तर्राष्ट्रिय पृथ्वी दिवसको अवसरमा जलवायु न्यायको क्षेत्रमा कार्यरत संस्था ‘साथसाथै फाउन्डेसन’ले तीनै तहको सरकारको प्रत्यक्ष संलग्नतामा बाढी प्रभावित क्षेत्र थामेमा ‘आरोही सम्मेलन, जलवायु न्यायका लागि संवाद’ शीर्षकको कार्यक्रम आयोजना गरेको हो।
उक्त कार्यक्रममा रक्षामन्त्री मानवीर राई, वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही, कतारकी राजकुमारी तथा सगरमाथा आरोही आस्मा अलथानीलगायत विशिष्ट व्यक्तित्वहरूको सहभागिता रहेको छ। तीन हजार ८०० मिटरको उचाइमा रहेको हिमपहिरोले क्षति पुर्याएको थामे बस्तीमा आयोजित सम्मेलनमा विश्वविख्यात आरोही मिङमा डेबिड शेर्पा, कान्छो आरोही तेम्बा छिरी शेर्पासहित अन्य पर्वतारोहीहरूको पनि उपस्थिति रहेको छ।
खुम्बु पासाङ ल्हामु गाउँपालिका, कोशी प्रदेश सरकारको पर्यटन वन तथा वातावरण मन्त्रालय र सङ्घ सरकारको वन तथा वातावरण मन्त्रालयको सहकार्यमा ‘साथसाथै फाउन्डेसन’ले ‘सगरमाथा संवाद’को पूर्वसन्ध्यामा थामेमा जलवायु परिवर्तनसम्बन्धी सम्मेलन आयोजना गरेको हो। नेपाल पर्यटन बोर्ड, नेपाल पर्वतारोहण सङ्घलगायत विभिन्न सङ्घसंस्थाको पनि यस सम्मेलनमा सहकार्य रहेको छ।