देश

काभ्रेमा बाढीपहिरो पीडितलाई अस्थायी आवास बनाउन अनुदान वितरण सुरु

काभ्रेपलाञ्चोक । गत असोजको अविरल वर्षासँगै आएको बाढीपहिरोबाट विस्थापित भएका काभ्रेका नागरिकलाई अस्थायी आवास निर्माण गर्न सरकारले १० स्थानीय तहमा अनुदान वितरण सुरु गरेको छ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणमार्फत दुई हजार ८९५ घरपरिवारलाई पहिलो किस्तास्वरूप २५ हजार रुपैयाँ प्रदान गरिने प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले जानकारी दिए। “माग भएअनुसार जिल्ला प्रशासन कार्यालयलाई रकम प्राप्त भएको र गत आइतबारदेखि प्रभावित परिवारलाई वितरण गरिरहेका छौँ,” उनले भने।

प्राधिकरणले दोस्रो किस्ताबापत पनि २५ हजार रुपैयाँ उपलब्ध गराउने जनाएको छ। पहिलो चरणमा महाभारत गाउँपालिकाका १७, बेथानचोकका २ सय ३९ र नमोबुद्ध नगरपालिकाका ८ सय २४ घरपरिवारका लागि रकम माग गरिएको थियो।

प्राधिकरणका अनुसार निजी आवास पूर्ण रूपमा क्षति भएका वा आंशिक क्षति भए पनि बस्न योग्य नरहेका परिवारलाई तत्काल अस्थायी आवास निर्माणका लागि अनुदान उपलब्ध गराउने निर्णयबमोजिम चरणबद्ध रूपमा अनुदान रकम निकासा गरिएको हो।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *