मुख्य समाचार

मन्त्रिपरिषद बैठकअघि शिक्षकको मागमा प्रधानमन्त्री र शिक्षामन्त्रीबीच गम्भीर छलफल

काठमाडौं । आन्दोलनरत शिक्षक तथा विद्यालय कर्मचारीका मागलाई लिएर प्रधानमन्त्री केपी शर्मा ओली र शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराईबीच विशेष भेटवार्ता सम्पन्न भएको छ। शिक्षामन्त्री भट्टराई आइतवार दिउँसो प्रधानमन्त्री निवास बालुवाटार पुगेर प्रधानमन्त्रीसँग परामर्श गरेकी हुन्। हाल शिक्षकहरू आन्दोलनरत रहेका बेला भएको यो भेटलाई राजनीतिक तथा प्रशासनिक वृत्तमा विशेष महत्त्वका साथ हेरिएको छ।

बालुवाटार स्रोतका अनुसार, प्रधानमन्त्रीसँग मन्त्रीले परामर्श गर्नु स्वाभाविक प्रक्रिया हो। उनी आज छलफलका लागि आएका हुन् । यही दिन केही समयपछि मन्त्रिपरिषदको नियमित बैठक बस्ने तय भएको छ। बैठकअघि शिक्षक आन्दोलन र उनीहरूका माग सम्बोधन गर्ने विषयमा प्रधानमन्त्री र शिक्षामन्त्रीबीच गम्भीर छलफल भएको जनाइएको छ।

शिक्षा मन्त्रालयले आन्दोलनको पृष्ठभूमिमा शिक्षकहरूको माग सम्बोधन गर्न सात बुँदे प्रस्ताव तयार पारेको छ, जसलाई आजको मन्त्रिपरिषद बैठकमा प्रस्तुत गरिनेछ।

उक्त प्रस्तावमा ईसीडी (शैक्षिक बाल विकास) शिक्षकको तलब १७,३०० रूपैयाँ कायम गर्ने, सामाजिक सुरक्षा कोषमा नयाँ प्याकेज ल्याउने, दुर्गम क्षेत्रमा कार्यरत शिक्षकलाई विशेष भत्ता दिने, ग्रेड समायोजन तथा मर्यादा क्रम निर्धारण गर्ने, र निजामती अस्पतालबाट शिक्षकमैत्री उपचार सुविधा दिने जस्ता विषय समावेश छन्। बैठकमा ती प्रस्तावहरूबारे औपचारिक निर्णय हुने अपेक्षा गरिएको छ, जसले शिक्षक आन्दोलनको समाधानतर्फ मार्गप्रशस्त गर्न सक्ने आकलन गरिएको छ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *