काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले संस्कृति मानव जीवनको अभिन्न अङ्ग भएको बताउँदै यससँग सम्बन्धित इतिहासको संरक्षण र संवर्द्धन गर्नुपर्नेमा जोड दिएका छन्।
आज प्रधानमन्त्री निवास बालुवाटारमा राष्ट्रिय समाचार समिति (रासस) द्वारा प्रकाशित ‘रासस फोटो किताब : गणतन्त्रको १६ वर्ष’ ग्रहण गर्दै प्रधानमन्त्री ओलीले ज्ञानको खोजी र मनोरञ्जनका क्रममा मानिसले संस्कृतिलाई अँगाल्ने गरेको बताए। “संस्कृति हामीले छोड्नै नहुने कुरा हो, यसको सन्तुलित अर्थ बुझेमा आफू र आफ्नो इतिहासलाई बुझाउन सहयोग गर्छ,” प्रधानमन्त्री ओलीले भने।
उनले राससको यो प्रयास सराहनीय भएको प्रतिक्रिया दिए। दुःखमा परेका बेला पनि मानिसले संस्कृतिका माध्यमबाट मनोरञ्जन लिएर जीवनयापन गर्ने गरेको उनको भनाइ थियो।
त्यस अवसरमा राससका कार्यकारी अध्यक्ष धर्मेन्द्र झाले लोकतन्त्र र गणतन्त्र दिवसका अवसरमा मुलुकको संस्कृति, कला, विकास र पूर्वाधारलाई समेटेर दुई वर्षसम्म गरिएको प्रदर्शनीका तस्बिरहरूलाई पुस्तकमा समावेश गरिएको जानकारी गराए। गणतन्त्र स्थापनापछिका १६ वर्षमा भएका प्रगति र उपलब्धिहरूलाई तस्बिरमार्फत प्रस्तुत गरिएको र ‘देशमा केही पनि भएको छैन’ भन्नेहरूका लागि यो पुस्तक गतिलो जवाफ भएको उनले बताए। सीमित स्रोतसाधनका बाबजुद राससले तयार पारेको यो सङ्ग्रहणीय पुस्तक विदेशी पाहुनालाई उपहार दिन पनि उपयोगी हुने विश्वास उनले व्यक्त गरे।
पुस्तकमा देशका सबै जातजाति, भाषाभाषी, भूगोल, धर्म, संस्कृति र पूर्वाधार निर्माणका क्षेत्रमा भइरहेका १८२ वटा तस्बिर समावेश छन्, जुन ९० जना फोटो पत्रकारले खिचेका हुन्।
पुस्तक हस्तान्तरण कार्यक्रममा राससका महाप्रबन्धक सिद्धराज राई, प्रधान सम्पादक उत्तम सिल्वाल, प्रशासन प्रमुख शीतलप्रसाद महतो, प्रमुख समाचारदाता नारायणप्रसाद न्यौपाने, वरिष्ठ समाचारदाता प्रकाश सिलवाल, समाचारदाता कालिका खड्का र फोटो पत्रकार विकल्प दाहालको उपस्थिति थियो।
यसअघि यो पुस्तक राष्ट्रपति रामचन्द्र पौडेल, उपराष्ट्रपति रामसहायप्रसाद यादव, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङलगायत विशिष्ट व्यक्तिहरूलाई हस्तान्तरण गरिएको थियो।




