देश

प्रधानसेनापतिद्वारा सहायक सेनानीमा बढुवा भएका सुबेदारहरूलाई दर्ज्यानी चिह्न प्रदान

काठमाडौँ । प्रधान सेनापति अशोकराज सिग्देलले नेपाली सेनामा साधारण सेवातर्फ सहायक सेनानी पदमा बढुवा भएका प्रमुख सुबेदार र सुबेदारहरूलाई दर्ज्यानी चिह्न प्रदान गरेका छन्।

आज जङ्गी अड्डामा आयोजित एक विशेष कार्यक्रममा उनीहरूलाई दर्ज्यानी चिह्न प्रदान गरिएको हो। सैनिक सेवा नियमावली २०६९ अनुसार नेपाली सेनामा साधारण सेवातर्फ रिक्त रहेको सहायक सेनानी पदको १० प्रतिशत बढुवाद्वारा पदपूर्ति गर्ने प्रावधान छ। सोही नियमानुसार बढुवा भएका ३४ जना प्रमुख सुबेदार र सुबेदारमध्ये संयुक्त राष्ट्रसङ्घीय मिसन (शान्ति सेना) मा कार्यरत पाँच जना बाहेक २९ जनालाई दर्ज्यानी चिह्न प्रदान गरिएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ।

उक्त समारोहमा बलाध्यक्ष, रथीवृन्द, अन्य उच्च अधिकृतहरूका साथै बढुवा भएका अधिकृतहरूका परिवारका सदस्यहरूको उपस्थिति रहेको थियो।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *