काठमाडौँ । कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले याकपालनले हिमाली समुदायको आयआर्जन, खाद्य र पोषण सुरक्षा, प्राङ्गारिक खेती तथा वातावरणीय सन्तुलनमा महत्त्वपूर्ण भूमिका निर्वाह गरिरहेको बताएका छन्।
प्रथम राष्ट्रिय याक दिवसका अवसरमा मन्त्रालयद्वारा आयोजित कार्यक्रममा बोल्दै मन्त्री अधिकारीले भौगोलिक चुनौती, बसाइँसराइ, चरन क्षेत्रको अभाव, प्रजननसम्बन्धी समस्या, जङ्गली जनावरको आक्रमण र जलवायु परिवर्तन जस्ता कारणले नेपालमा याक चौँरीको सङ्ख्या घट्दो क्रममा रहेको बताए। उनले याक चौँरी पालनका लागि सङ्गठित प्रयासको खाँचो औंल्याए।
मन्त्री अधिकारीले याक चौँरीको संरक्षण र दिगो उपयोगमार्फत हिमाली क्षेत्रको खाद्य सुरक्षा, जलवायु अनुकूलन, जैविक विविधताको संरक्षण र ग्रामीण जीवनशैलीको सशक्तीकरण अबको साझा लक्ष्य हुनुपर्नेमा जोड दिए। उनले हिमाली जनजीवनको अभिन्न अङ्ग बनेका याक चौँरीलाई संरक्षण, सुधार र व्यावसायिक रूपान्तरणमार्फत नयाँ जीवन दिनु सबैको साझा दायित्व भएको बताए।
मन्त्रालयको पहलमा सरकारले याक र चौँरीको महत्वलाई स्वीकार गर्दै प्रत्येक वैशाख ७ गते राष्ट्रिय याक दिवस मनाउने निर्णय गरेको जानकारी दिँदै मन्त्री अधिकारीले याकको संरक्षण एवं प्रवर्द्धनका लागि सोलुखुम्बुको स्याङ्बोचेमा याक आनुवांशिक स्रोत केन्द्र सञ्चालनमा ल्याइएको बताए। केन्द्रले याकको शुद्ध नस्ल संरक्षण, आनुवंशिक सुधार, प्रविधि विस्तार र प्रसारमा महत्वपूर्ण काम सुरु गरेको र आगामी दिनमा याक चौँरीको दिगो विकास सुनिश्चित गर्न मन्त्रालय प्रतिबद्ध रहेको उनले बताए।
‘याक चौँरी प्रवर्द्धनः हिमाली जीवन, संस्कृति र पर्यावरण संरक्षण’ भन्ने नाराका साथ पहिलो पटक याक दिवस मनाइएको हो। राष्ट्रिय याक दिवसका अवसरमा याकपालक किसानलाई सम्मान गरिएको थियो। याकलाई राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन, २०२९ ले संरक्षित वन्यजन्तुको सूचीमा राखेको छ। नेपालमा मात्र उत्पादन हुने विश्व प्रसिद्ध याक चिज ‘ओमेगा-३ फ्याटी एसिड’को स्रोत रहेको छ।
याकको दूधबाट बनेको छुर्पी हिमाली क्षेत्रका किसानको आम्दानीको प्रमुख स्रोत हो। हिमाली क्षेत्रको सभ्यताका रूपमा समेत याक रहेको संरक्षणकर्मीहरूको भनाइ छ। याकको छाला र पुच्छरबाट बन्ने वस्तु निर्यातको प्रचुर सम्भावना बोकेका उत्पादन हुन्।




