देश

पूर्वाधार र प्रचारप्रसारको अभावमा ओझेलमा बयली, पर्यटकको पर्खाइमा रमणीय गन्तव्य

म्याग्दी। अन्नपूर्ण गाउँपालिका–५ मा अवस्थित बयली पर्यटकीय सम्भावना भएर पनि ओझेलमा परेको छ। समुद्री सतहबाट तीन हजार ४५० मिटर उचाइमा रहेको यो रमणीय स्थल पूर्वाधार विकास र प्रचारप्रसारको पर्खाइमा छ। बयलीस्थित सामुदायिक लजका सञ्चालक लोकबहादुर पाइजाका अनुसार यहाँ हिमशृङ्खला, सूर्योदय र पहाडी भूबनोटको सुन्दर दृश्य अवलोकन गर्न सकिन्छ। एकान्त वातावरणमा रमाउन चाहने पर्यटकका लागि यो उत्कृष्ट गन्तव्य भए पनि प्रचारप्रसारको कमीले पर्यटकको आगमन न्यून छ।

पाइजाले बयलीमा व्यवस्थित पदमार्ग निर्माण र यहाँको आकर्षणको प्रचारप्रसार गर्न सके अन्नपूर्ण चक्रीय पदमार्गमा आउने पर्यटकको बसाइ लम्ब्याउन सकिने बताए। स्थानीय बासिन्दाको सक्रियतामा पर्यटकको सुविधा र गाउँका विद्यालय तथा स्वास्थ्य संस्था सञ्चालनका लागि स्रोत जुटाउन बयली, ढाडखर्क र खोपारामा १५ वर्षदेखि सामुदायिक लज सञ्चालन भइरहेको छ।

बयलीको तल्लो भेगमा गुराँस र सल्लाको घना जङ्गल छ भने माथिल्लो पाखोमा घरपालुवा जनावरको चरन क्षेत्र रहेको छ। यहाँ चौरीपालन पनि गरिन्छ। बर्खायाममा भेडाबाख्रा र गाईभैँसीका गोठ पनि बयलीमा राखिन्छन्। पश्चिम फर्किएको पाखोमा रहेको बयलीबाट धवलागिरि हिमशृङ्खला, सूर्योदय र सूर्यास्तको मनमोहक दृश्य देखिन्छ। म्याग्दीका पहाड र ग्रामीण बस्तीको सुन्दरता पनि यहाँबाट नियाल्न सकिन्छ। बस्तीबाट टाढा शान्त र रमणीय वातावरण रहेको बयलीको थप आकर्षण चौरीगोठ हो।

म्याग्दीको घोडेपानीबाट एक दिन र कास्कीको घान्द्रुकबाट दुई दिनको पदयात्रा गरेर बयली पुग्न सकिन्छ। अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) को सहयोगमा घोडेपानी र घान्द्रुकबाट बयली जाने आधारभूत पदमार्ग निर्माण गरिएको छ। बयलीको सामुदायिक लजमा एक रातमा १८ जनासम्म बास बस्न सक्छन्। बयलीबाट ढाडखर्क हुँदै स्वाँत–शिख र खोपारा–खयर–पाउद्धारसम्म पनि पदयात्रा गर्न सकिन्छ। तर, बयलीबाट ढाँडखर्कसम्मको जङ्गल र भिरमा पदमार्ग नहुँदा यात्रा जोखिमपूर्ण हुन सक्छ।

अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष भारतकुमार पुनले सडक विस्तारसँगै छोटिएको अन्नपूर्ण चक्रीय पदमार्गमा पर्यटकको बसाइ लम्ब्याउन बयलीलगायत सम्भावना भएका गन्तव्यको पहिचान गरी पूर्वाधार निर्माणका लागि पहल गरिने बताए। उनले बयलीलाई नयाँ पर्यटकीय गन्तव्यको रूपमा विकास गर्न सकिने सम्भावना रहेको औँल्याउँदै यस क्षेत्रको निरीक्षण गरी आवश्यक पूर्वाधार निर्माणमा पहल गर्ने प्रतिबद्धता व्यक्त गरे।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *