दोधारा चाँदनी (कञ्चनपुर)। कञ्चनपुरको कृष्णपुर नगरपालिका र लालझाडी गाउँपालिका जोड्ने दोदा नदीमा पुल निर्माण सम्झौता भएको नौ वर्षपछि सुरु भएको छ।
पुल निर्माणका लागि २०७२ पुसमा लुम्बिनी राजेन्द्रकुमार श्रेष्ठ जेभी कैलालीसँग २४ करोड २२ लाख ५७ हजार रुपैयाँमा ठेक्का सम्झौता भएको थियो। सम्झौताअनुसार पुल निर्माणको काम २०७५ पुससम्म सम्पन्न गर्नुपर्ने भए पनि पुलको फाउन्डेसनमा समस्या देखिएपछि निर्माणमा नौ वर्ष ढिलाइ भएको हो। डिभिजन सडक कार्यालयका सबइन्जिनियर भोजराज रानाका अनुसार सम्झौता भएलगत्तै काम सुरु भएर तीन पिलरसम्म निर्माण भएका थिए। तर, पिलरको जगमा समस्या देखिएपछि लागत नबढ्ने गरी डिजाइन परिवर्तन गरेर अर्कै स्थानमा पुल बनाउनुपरेको उनले बताए।
सबइन्जिनियर रानाले पुलको फाउन्डेसनमा समस्या आएकाले पुनः डिजाइन परिवर्तन गरी अर्को ठाउँमा पुल बनाउनुपर्दा निर्माणमा ढिलाइ भएको बताए। उनले अहिले पुल निर्माणको काम तीव्र गतिमा भइरहेको र असारसम्म सक्ने तयारी रहेको जानकारी दिए। सम्झौताअनुसार पुल निर्माणको काम आगामी माघमा सक्नुपर्ने छ। पुल निर्माण कम्पनी लुम्बिनी राजेन्द्रकुमार श्रेष्ठ जेभीका इन्जिनियर किशोरराज पाण्डेयले पुलको ६० प्रतिशत काम सम्पन्न भइसकेको बताए।
दोदा नदीमा पुल नहुँदा वर्षौंदेखि स्थानीयवासीले आवतजावतमा समस्या भोग्दै आएका छन्। बर्खायाममा ज्यान जोखिममा राखेर खोला तर्नुपर्ने बाध्यता रहेको स्थानीय बताउँछन्। खोलामा पुल नहुँदा नदी तर्ने क्रममा केही वर्षअगाडि लालझाँडीका दुई जनाले ज्यान गुमाइसकेको स्थानीय रघुवीर रानाले बताए। नदीपारि बसाइ र वारि खेतबारीको काम गर्नुपर्ने भएकाले बर्खामा जोखिम मोलेर नदी तर्नुपर्ने बाध्यता रहेकोमा अहिले पुल आधा बनिसकेकाले खुसी लागेको उनले बताए।




