देश

विदेशमा रहेका नेपालीहरूलाई चन्द्र ढकालको आग्रह- नेपालमा लगानी गर्नूस्

काठमाडौँ।  नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपालमा लगानी गर्न कतारमा रहेका नेपालीहरूलाई आग्रह गरेका छन् ।

कतारको दोहामा बागलुङ सेवा समाजको संरक्षकत्वमा बुहउद्देश्यीय अक्षयकोष स्थापनाका लागि आयोजित प्रथम अधिवेशनलाई सम्बोधन गर्दै अध्यक्ष ढकालले धेरै सम्भावना रहेकाले नेपालमा लगानीका लागि आग्रह गरेका हुन् ।

अध्यक्ष ढकालले आफू बागुलङबाट आएर अहिले मुलुककै निजी क्षेत्रको छाता संगठनको नेतृत्वमा पुगेको उदाहरण दिँदै मिहिनेत, लगनशीलता र इमानदारिताका साथ काम गरेमा नेपालमा धेरै सम्भावना रहेको बताए ।

वैदेशिक रोजगारीमा रहेका नेपालीसमेतलाई लगानीको अवसर प्रदान गर्ने गरी १० अर्ब रुपैयाँको नेपाल डेभलपमेन्ट कम्पनी स्थापना गरिएको जानकारी गराउँदै अध्यक्ष ढकालले त्यस कम्पनीमार्फत लगानी गर्न आग्रहसमेत गरे । कम्पनीले मुलुकभित्र तथा मुलुकबाहिर रहेका नेपालीहरूको छरिएर रहेको पुँजी संकलन गरी जलविद्युत्, पर्यटन, उद्योग तथा विभिन्न सम्भावना भएका क्षेत्रमा लगानी गर्न गइरहेको बताए ।

सामाजिक उत्तरदायित्व कोषमा १५ लाख प्रदान

अध्यक्ष ढकालले बागलुङबाट कतारमा आएका बागलुङवासीहरूले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत काम गर्न अक्षकोष स्थापना गरेकोमा विशेष धन्यवाद व्यक्त गर्दै कोषमा १५ लाख रुपैयाँ सहयोग गर्ने घोषणा गरेका थिए । कार्यक्रममा बागलुङबासीसमेत भएकाले अध्यक्ष ढकाललाई सम्मान प्रदान गरिएको थियो ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *