देश

वैदेशिक रोजगारीका समस्या समाधान गर्न ‘मिसन रोजगारी’ राष्ट्रिय अभियान सुरु : महामन्त्री थापा

काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले वैदेशिक रोजगारीको क्षेत्रमा विद्यमान समस्याहरूको पहिचान गरी समाधान खोज्न ‘मिसन रोजगारी’ नामक राष्ट्रिय अभियान सुरु गरिएको जानकारी दिएका छन्।

शुक्रबार नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी एशोसिएशनद्वारा काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै महामन्त्री थापाले पार्टीका अर्का महामन्त्री विश्वप्रकाश शर्मासँगको सहकार्यमा यो अभियान थालिएको बताए।

उनले वैदेशिक रोजगारीको क्षेत्रलाई तिरस्कार र गाली गर्ने दृष्टिकोण त्याग्नुपर्नेमा जोड दिए। वैदेशिक रोजगारीमा जाने कामदारहरूको अवस्था, उनीहरू जानुका कारण र जान नहुने अवस्थाबारे तथ्यपरक विश्लेषण गर्न एशोसिएशनसँग सहकार्य गर्न काँग्रेस तयार रहेको उनले बताए। ‘अहिले नेपाली काँग्रेसको दुई जना महामन्त्रीले मिसन रोजगारी भन्ने एउटा राष्ट्रिय अभियान प्रारम्भ गरेका छौं।

त्यो अभियानको एउटा अभिन्न अङ्ग भनेको एउटा वैदेशिक रोजगारी हो। यो अभियान सुरु भएको एक महिना भयो। यसमा हाम्रो एउटा टिमले काम गरिरहेको छ। केही विश्वविद्यालयहरूसँग हाम्रो साझेदारी छ। केही शैक्षिक संस्थाहरूसँग पनि हाम्रो साझेदारी छ। हामी अब एशोसिएशनसँग पनि काम गर्न चाहन्छौं। हामी वैदेशिक रोजगारीको क्षेत्रलाई तिरस्कारीको क्षेत्र, गालीको क्षेत्र होइन हामी सँगसँगै बसेर कस्ता मान्छे काम गर्न गएका छन् रु किन गएका छन् रु को जाने को नजाने भन्नेबारेमा ज्ञान उत्पादन गर्ने ठाउँमा हामी तपाईंहरुसँग बसेर काम गर्न चाहन्छौं। किन कि यो विषयको हल हामीले खोज्नुपर्नेछ,’ थापाले भने।

महामन्त्री थापाले नेपाली काँग्रेस अब समस्या देखाएर मात्र नभई त्यसको ठोस समाधान दिन सक्ने पार्टी बन्नुपर्ने बताए। नेपालमा रहेको बेरोजगारी समस्याको समाधान खोज्न निजी क्षेत्रसँग सहकार्य गर्न काँग्रेस तयार रहेको उनको भनाइ थियो। मुलुकमा विद्यमान समस्याहरूप्रति रुवाबासी नगरी समाधानमुखी दृष्टिकोण र कार्यशैली अपनाउनुपर्नेमा उनले जोड दिए। ‘काँग्रेस पार्टीले अब समस्या मात्र देखाएर हुँदैन। काँग्रेस पार्टीले अब समाधान पनि दिनुपर्छ। हामी समाधान दिने पार्टी हो। हाम्रो ड्युटी हो यो। नेपाली काँग्रेस पार्टीले नेपालमा रोजगारीको समस्या छ समाधान दिने हो। वैदेशिक रोजगारीको क्षेत्रलाई थप राम्रो बनाउने हो। अब पार्टीको काम गर्ने तरिका पनि बदलिनुपर्छ। पार्टीको दृष्टिकोण पनि बदलिनुपर्छ। अब हामीले गनगन गर्ने पनि होइन रुवाबासी गर्ने पनि होइन। अब समस्या भएको क्षेत्रमा काँग्रेस छ र समाधान दिन्छ भन्ने पार्टी बनाएर जान आवश्यक छ,’ उनले भने।

नेपाली काँग्रेस आन्तरिक र वैदेशिक रोजगारीको सम्बन्धमा गहन अध्ययन र चिन्तन गरिरहेको र छिट्टै यस क्षेत्रका समस्याहरूको समाधान दिने विश्वास उनले व्यक्त गरे।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *