काठमाडौँ । समाज कल्याण परिषद्ले काठमाडौँको भृकुटीमण्डपस्थित जग्गा भाडामा लिएर बक्यौता नतिर्ने ४७ विभिन्न सङ्घ संस्था र व्यक्तिलाई ३५ दिने अल्टिमेटम दिएको छ। राजनीतिक पहुँचका आडमा विगत २५/३० वर्षदेखि जग्गा प्रयोग गरेर भाडा नतिर्नेहरूलाई परिषद्ले सार्वजनिक सूचना जारी गर्दै बक्यौता रकम बुझाउन भनेको हो।
समाज कल्याण परिषद्का प्रशासन प्रमुख दुर्गाप्रसाद भट्टराईका अनुसार गत चैत २१ गते जारी गरिएको सार्वजनिक सूचनामा बक्यौता रकम ३५ दिनभित्र बुझाउन आह्वान गरिएको छ। बक्यौता तिर्न बाँकी रहेका सङ्घ, संस्था र व्यक्तिबाट ६ करोड ८२ लाख ७५ हजार ५४५ रुपियाँ असुल गर्न लागिएको उनले बताए। “हामीले बक्यौता तिर्न पत्र लेखेर धेरै पटक आग्रह गर्यौं। कतिपयले तिर्नुभयो। धेरैले पैसा तिर्न मान्नुभएन,” भट्टराईले भने, “अब हामी प्रक्रियामा गएका छौं। ३५ दिने सूचना प्रकाशित भइसकेको छ। कानुनबमोजिम हरहिसाब कोष तथा लेखा नियन्त्रणको कार्यालयमा सिधै पठाइन्छ।” उनले राज्यको सम्पत्ति कसैले पनि दुरुपयोग गर्न नमिल्ने भएकाले बक्यौता उठाएरै छाडिने दाबी गरे। राजनीतिक संरक्षणकै कारण लामो समयसम्म बक्यौता उठ्न नसकेको स्वीकार गर्दै उनले राज्यलाई अटेर गरेका कारण यति धेरै रकम जम्मा भएको उल्लेख गरे।
परिषद्का अनुसार भाडा नतिर्नेहरूमा राजनीतिक दलका नेतादेखि पत्रकार र कर्मचारीका संस्थाहरू समेत रहेका छन्। अधिकांशले २०५० देखि २०६२/६३ साल अघिसम्मको भाडा समेत तिरेका छैनन्। भाडा सम्झौता गरेका व्यक्ति तथा संस्थालाई पटक पटक सम्पर्क गर्दा उनीहरूको फोन नलाग्ने गरेको परिषद्का अधिकारीहरू बताउँछन्। सम्पर्कविहीन भएका नौ व्यक्ति र संस्थालाई भने हुलाकमार्फत पत्र पठाएर बक्यौता तिर्न सूचित गरिएको छ।




