काठमाडौं । गेटा आँखा अस्पतालको बाजुरास्थित मार्तडी शाखाका प्रमुख अंकित कुमार निगम बानिया लागुऔषधसहित पक्राउ परेका छन्। उनीसँगै रहेका अर्का युवक मेकेन्द्र गिरी पनि पक्राउ परेका छन्।
जिल्ला प्रहरी कार्यालय कैलालीको टोलीले शुक्रबार दिउँसो धनगढीको चौराहाबाट उनीहरूलाई पक्राउ गरेको हो। प्रहरीले उनीहरूलाई खैरो हेरोइनसहित नियन्त्रणमा लिएको जानकारी दिएको छ।
प्रहरीका अनुसार, बानिया सवार मोटरसाइकल (लु.प्र.प्र. ०१००१ प ९२७८) चेकजाँच गर्ने क्रममा पछाडि बसेका गिरीको झोलाबाट प्लास्टिकमा प्याक गरिएको १० ग्राम र खुल्ला ८।८० ग्राम खैरो हेरोइन फेला परेको हो।
प्रहरी नायब उपरीक्षक (डीएसपी) कबिन्द्र सिंह बोहरा का अनुसार, दुवै जना अहिले प्रहरी नियन्त्रणमा छन् र घटनाबारे थप अनुसन्धान भइरहेको छ। यस घटनाले स्वास्थ्य क्षेत्रमा कार्यरत व्यक्तिहरूको आचरण र जिम्मेवारीमाथि गम्भीर प्रश्न उठाएको छ।




