देश

विश्व सम्पदा दिवसको सन्दर्भ : विकासको नाममा नासिँदै मौलिक पहिचान

ढोरपाटन (बागलुङ) । विश्व सम्पदा दिवसको सन्दर्भ पारेर यहाँका स्थानीय ज्येष्ठ नागरिकहरू मौलिक सम्पदा र त्यससँग जोडिएका पहिचानहरू नासिन थालेकोमा गहिरो चिन्ता व्यक्त गरेका छन्। विकासका नाममा जथाभाबी सडक विस्तार गरिँदा पुस्तौँदेखि चलिआएका मौलिक सम्पदा लोप हुन थालेको उनीहरूको गुनासो छ।

बागलुङको निसीखोला गाउँपालिका–४ का ८३ वर्षीय धनबहादुर मगरले आफ्नो गाउँमा रहेका धार्मिक महत्वका वरपिपलका रुखहरू सडक निर्माणका क्रममा मासिँदा गाउँको पहिचान नै मेटिएको दुखेसो पोखे। उनले भने, “हाम्रो गाउँमा पाँच–सात ठाउँमा वरपिपलका रुख थिए, मान्छेले बिहान–बिहान आएर पूज्थे, गर्मीमा शीतल लिन यसको फेँदमा बस्थे, बटुवाहरू हिँड्दा थकाइ मार्न एकछिन यसैको छहारीमा विश्रम लिन्थे, अहिले ती वरपिपल सबै बाटोले खायो, बटुवा पनि हिँड्न छोडे।” उनले बुढापाकाले रोपेर हुर्काएका धार्मिक महत्वका रुखहरू अहिलेको पुस्ताले वास्ता नगर्दा गाउँ उजाड बन्दै गएको बताए।

जथाभाबी सडक निर्माणले बस्ती जोखिममा पर्नुका साथै धार्मिक आस्थासँग जोडिएका सम्पदा भत्काउने काम भइरहेकोमा मगरले चिन्ता व्यक्त गरे। अव्यवस्थित सडकले गाउँको स्वरूप नै कुरुप बनाएको भन्दै यसलाई राज्यले व्यवस्थित गर्नुपर्नेमा उनले जोड दिए।

ढोरपाटन नगरपालिका–९ का कुलबहादुर पुनले आधुनिक प्रविधिको विकासले सञ्चालनमा रहेका सम्पदासमेत प्रयोगविहीन हुँदै गएको बताए। डोजरे विकासले गाउँ, बस्ती र पर्यावरणमा नराम्रो असर पारेको उनको भनाइ छ। सडक निर्माणका कारण धेरै ठाउँमा पानीको मुहान सुक्ने समस्या देखिएको उनले बताए। ढोरपाटन जाने बाटोमा रहेको रुद्रताल पनि डोजर चलाउँदा सुक्दै गएको जानकारी दिँदै पुनले यस क्षेत्रको संरक्षण हुन नसकेको गुनासो गरे। “रुद्रतालमा देवता छन् भन्थे, यहाँ कसैले पनि फोहर गर्दैनथे, एक दशक अगाडिसम्म यहाँ ठूला ताल थियो, पानी पनि भरी हुन्थ्यो। अहिले डोजर लगाएपछि पानी सुकेको छ,” उनले भने।

स्थानीय प्रेमबहादुर बुढा मगरले पछिल्लो समय भरिया र स्थानीयले थकाइ मेटाउने चौतारा, बटुवाले बास बस्ने पाटीपौवा र धर्मशालाको अस्तित्व समाप्त भएको बताए। “सडकले हप्ता दिन लगाएर पुग्ने गन्तव्य छोटो बनाए पनि मौलिक सम्पदाको पहिचान भने मेटाइदियो,” उनले भने। बागलुङको पश्चिम क्षेत्रबाट जिल्ला सदरमुकाम आउँदा बाटोका दर्जनौँ स्थानमा भेटिने वरपिपलका चौतारा, ढुङ्गेधारा र धर्मशाला अहिले मासिएकामा उनले दुःख व्यक्त गरे।

उनले मौलिक परम्परा र संस्कृतिसँग जोडिएका सम्पदाको संरक्षण र सम्बर्द्धनका लागि राज्य, स्थानीय सरकार र सरोकार भएका सबैले पहल गर्नुपर्नेमा जोड दिए।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *