देश

निजामतीको अवकाश उमेर एकै पटक ६० वर्ष पुर्‍याउन अर्थको लबिङ

काठमाडौं। अर्थ मन्त्रालयले निजामती कर्मचारीको अवकाश उमेर हालको ५८ वर्षबाट एकै पटक बढाएर ६० वर्ष पुर्‍याउन सुझाव दिएको छ। निजामती सेवा ऐन, २०४९ लाई संशोधन गर्न बनेको संघीय निजामती विधेयक हाल संसद्को राज्य व्यवस्था तथा सुशासन समितिमा विचाराधीन छ।

यसअघि राज्य व्यवस्था समिति अन्तर्गतको उपसमितिले निजामती कर्मचारीको अवकाश उमेर तीन चरणमा ५८ बाट ६० वर्ष पुर्‍याउन सिफारिस गरेको थियो। तर, अर्थ मन्त्रालयले भने एकै पटक अवकाश उमेर बढाउँदा राज्यकोषलाई ठूलो फाइदा हुने तर्क प्रस्तुत गरेको छ।

शुक्रबार राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा अर्थ मन्त्रालयका सचिव घनश्याम उपाध्यायले एकै पटक अवकाश उमेर बढाउँदा राज्यलाई ५० देखि ६० अर्ब रुपैयाँसम्म बचत हुने जानकारी दिए। निजामती कर्मचारीको अवकाश उमेर ५८ बाट ६० वर्ष पुर्‍याउने सैद्धान्तिक सहमति जुटे पनि यसलाई कसरी कार्यान्वयन गर्ने भन्ने विषयमा अझै मतभेद छ। केही सांसदहरूले ६-६ महिनाको अन्तरालमा दुई वर्षभित्र लागू गर्नुपर्ने धारणा राखेका छन् भने केहीले एक-एक वर्षको अवधिमा लागू गर्नुपर्ने मत राखेका छन्। यस्तो अवस्थामा अर्थ मन्त्रालयले भने तत्कालै ५८ बाट ६० वर्षको प्रावधान लागू गर्न सुझाव दिएको हो।

अर्थ मन्त्रालयको यो सुझावसँगै निजामती विधेयकमा अवकाश उमेरको विषय थप पेचिलो बन्ने देखिएको छ। अब राज्य व्यवस्था तथा सुशासन समितिले अर्थ मन्त्रालयको सुझावलाई कसरी लिन्छ र कुन मोडालिटीमा सहमति जुटाउँछ भन्ने विषय प्रतिक्षाको रहेको छ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *