इनरुवा। सुनसरीको कोशी गाउँपालिका–६ मा बिहीबार भएको आगलागीमा ६० लाख रुपैयाँ बराबरको क्षति भएको छ।
स्थानीय वीरेन्द्रकुमार यादवका अनुसार गाईवस्तुको झिङ्गा र लामखुट्टे धपाउन बालेको आगो (घुरा) बाट फैलिएको आगोले पाँच परिवारका १० वटा घर जलेर नष्ट भएका हुन्।
आगलागीमा स्थानीय बाबुनन्द गोइत, रमानन्दराम यादव, मनोज यादव, खुसीलाल गोइत र विजय गोइतका घरहरू जलेका छन्। बाबुनन्द गोइतको घरमा रहेको एक लाख रुपैयाँ नगदसमेत जलेको छ। जिल्ला प्रहरी कार्यालयका सहायक प्रवक्ता प्रहरी निरीक्षक दिनेश अधिकारीले घरभित्र रहेका फर्निचर, सुनचाँदीलगायत सम्पूर्ण सामग्री जलेर नष्ट भएको जानकारी दिए।
स्थानीय बाबुन्दको घरबाट सुरु भएको आगो नेपाल प्रहरी, सशस्त्र प्रहरी, स्थानीयवासी र कोशी गाउँपालिकाको बारुणयन्त्रको सहयोगमा नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।




