देश

गड्डाचौकी नाका विदेशी पर्यटकको आकर्षक गन्तव्य बन्दै, आगमनमा उल्लेख्य वृद्धि

दोधारा चाँदनी (कञ्चनपुर)। पश्चिमी सीमानाका गड्डाचौकी भएर नेपाल भित्रिने विदेशी पर्यटकको सङ्ख्या बढ्दै गएको छ।

अध्यागमन कार्यालय गड्डाचौकीका प्रमुख कृष्णानन्द जोशीका अनुसार कोरोना महामारीपछि यो नाका भएर नेपाल आउने विदेशी पर्यटकको सङ्ख्या कम भए पनि पछिल्लो दुई वर्षयता यो सङ्ख्या निरन्तर बढिरहेको छ। “यहाँबाट अहिले विदेशी पर्यटक भित्रिने क्रम बढ्दो छ,” उहाँले भन्नुभयो, “यो वर्ष विगतको तुलनामा अझै बढ्ने अनुमान गरेका छौँ।”

जोशीका अनुसार सन् २०२३ मा यो नाका भएर नौ सय ८३ विदेशी पर्यटक नेपाल भित्रिएका थिए। सन् २०२४ मा यो सङ्ख्या बढेर एक हजार १५४ पुगेको छ। सन् २०२५ को हालसम्म चार सय ५९ विदेशी पर्यटक नेपाल भित्रिएका छन् भने यस वर्षको मार्च महिनामा मात्रै दुई सय ८९ जनाले यस नाकाबाट नेपाल प्रवेश गरेका छन्।

गड्डाचौकी नाकाबाट भित्रिने पर्यटकहरू प्रायः पोखरा, बर्दिया, चितवन र लुम्बिनीलगायतका पर्यटकीय गन्तव्यमा जाने गरेको कार्यालय प्रमुख जोशीले बताए। यो नाका भएर फ्रान्स, इटाली, स्पेन, कोरिया, जर्मनी, अष्ट्रेलिया, रसिया, युके, युएसए र अर्जेन्टिनालगायत विभिन्न देशका नागरिकहरू नेपाल आउने गरेका छन्।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *