कला/साहित्य

‘इसा अन्तरराष्ट्रिय अवार्ड’ को दुई विधामा मनोनयन

काठमाडौँ। ‘इन्टरनेसनल सिङ्गर सङ राइटर्स एसोसिएसन (इसा)’ ले संयुक्तराज्य अमेरिकामा आयोजना गर्ने ‘इसा अन्तरराष्ट्रिय अवार्ड’ को सातौँ संस्करणमा नेपालका गीतकार लोकराज अधिकारी दुई विधामा मनोनित भएका छन्।

गीतकार अधिकारी ‘जिन्दगानी के छ र’ बोलको गीतबाट ‘वर्ष गीतकार पुरुष’ र ‘म्युजिक भिडिओ अफ द इयर’ विधामा मनोनयनमा परेका हुन्। यो मनोनयन आफ्नो मात्र नभई सिंगो नेपालको प्रतिनिधित्व भएको अधिकारीले बताएका छन्।

उनी लगातार दोस्रो वर्ष नेपालबाट यो अवार्डमा मनोनयनमा परेका हुन्। अधिकारीले अमेरिकाको २१ विधा र अन्तर्राष्ट्रिय २१ विधा गरी ४२ विधामा प्रतिस्पर्धा हुने जानकारी दिए। गीतकार विधामा उनीसँगै ६१ जना र ‘म्युजिक भिडिओ अफ द इयर’ तर्फ ३६ जना प्रतिस्पर्धामा छन्। अधिकारीले गत चैत २० देखि ‘इलेकट्रोनिक भोटिङ’ सुरु भएको र वैशाख २० गतेसम्म भोट गर्न सकिने बताए। प्राप्त मतका आधारमा वैशाख १९ गते उत्कृष्ट २० को घोषणा हुनेछ।

अधिकारीले सबैलाई आफ्नो गीतमा भोट गर्न आग्रह गर्दै यो मनोनयनलाई अन्तर्राष्ट्रिय मञ्चमा सिंगो नेपाल र नेपालीभाषी गीतकारको प्रतिनिधित्वको रूपमा लिएको बताए। एउटा डिभाइसबाट दैनिक एकपटक भोट गर्न सकिने उनले जानकारी दिए।

‘जिन्दगानी के छ र’ गीतमा सिडी अधिकारीको सङ्गीत र स्वर रहेको छ भने बबिता श्रेष्ठले म्युजिक भिडिओ निर्देशन गरेकी हुन्।

आगामी भदौ ८ गते अमेरिकाको एटलान्टामा हुने यो अवार्डमा ‘इसा’ का सदस्य गीतकारहरू मात्र प्रतिस्पर्धामा सहभागी हुन पाउँछन्। अधिकारी सन् २०२२ मा यो संस्थाको सदस्य बनेका थिए। ‘तिमीले पराई ठाने पछि’, ‘रुपै मोहनी’, ‘बाजा बजाउँदै’, ‘मर्छु बरु छट्पटीमा’ लगायतका गीतहरू अधिकारीले रचना गरेका लोकप्रिय गीतहरू हुन्।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *