भक्तपुर । यही वैशाख १ गतेदेखि सुरु भएको ‘नगरकोट भ्रमण वर्ष २०८२’ को पहिलो दुई दिनमै एक लाख पर्यटकको आगमन भएको छ। पर्यटकीय क्षेत्र नगरकोटमा एक वर्षमा एक लाख बाह्य र १० लाख आन्तरिक पर्यटक भित्र्याउने लक्ष्य राखिएको यस अभियानको सुरुवात उत्साहजनक देखिएको छ।
पर्यटन प्रवर्द्धन, स्थानीयको आयस्रोत वृद्धि, रोजगारी सिर्जना र विश्व पर्यटन बजारमा नगरकोटको पहिचान स्थापित गर्ने उद्देश्यसहित ‘नगरकोट भ्रमण वर्ष २०८२’ को आयोजना गरिएको हो।
नयाँ वर्षको दिन राष्ट्रपति रामचन्द्र पौडेलले उद्घाटन गरेको यस भ्रमण वर्षको पहिलो दिन नै ५० हजारभन्दा बढी पर्यटकको आगमन भएको चाँगुनारायण नगरपालिकाका प्रमुख जीवन खत्रीले जानकारी दिए। उनले आज बिहानसम्म नगरकोटमा एक लाखभन्दा बढी पर्यटकको आगमन भएको बताएका छन्।
नगरप्रमुख खत्रीले भ्रमण वर्षको सुरुवातमा पर्यटकको उल्लेख्य आगमनले पर्यटन व्यवसायीहरू उत्साहित भएको बताए। गत चैतको अन्तिम दिन नगरकोटका कुनै पनि होटलका कोठा खाली नरहेको र होमस्टेहरू पनि भरिभराउ रहेको उनले जानकारी दिए। वैशाख १ गते मात्रै ५० हजारभन्दा बढी पर्यटक आएको र आजसम्ममा एक लाख पर्यटकको आगमनले आयोजक उत्साहित भएका छन्।
भ्रमण वर्षको उद्घाटनस्थल बतासे डाँडामा ६० वटा स्टलमा स्थानीय खानाका परिकार र घरेलु उत्पादन बिक्री भइरहेको छ। वैशाख २ गते इन्द्रेणी सांस्कृतिक समूहले भव्य सांस्कृतिक कार्यक्रम प्रस्तुत गरेको थियो। आज, उद्घाटन कार्यक्रमको समापनको दिन गायक प्रकाश सपुत र स्थानीय सांस्कृतिक समूहको प्रस्तुति रहेको छ। नगरकोट नाल्दुम पर्यटक विकास समितिका उपाध्यक्ष धनबहादुर लामाका अनुसार सांस्कृतिक कार्यक्रममा २५ हजारभन्दा बढी आन्तरिक तथा बाह्य पर्यटकको सहभागिता रहेको छ।
नगरकोटमा सुरु भएको यो भ्रमण वर्ष १२ महिनासम्म अर्थात् आगामी चैत मसान्तसम्म सञ्चालन हुनेछ। नगरप्रमुख खत्रीले चाँगुनारायण, मण्डनदेउपुर, बनेपा र शङ्खरापुर नगरपालिकाले संयुक्त रूपमा आयोजना गरेको भ्रमण वर्षको सुरुवात पूर्ण रूपमा सफल भएको बताए। नगरकोट आएका हजारौं पर्यटकले यहाँको हिमाली दृश्य, सूर्योदय, सूर्यास्त र विभिन्न स्थानीय उत्पादनका स्टलहरूको अवलोकन गर्नुका साथै प्राकृतिक सुन्दरताको अनुभव गरेका छन्।
उद्घाटनको तीन दिनमा एक लाख पर्यटक भित्र्याउने लक्ष्य राखिएकोमा त्यो पूरा भएको र एक वर्षमा ११ लाख पर्यटक भित्र्याउने तथा नगरकोटलाई विश्व पर्यटन बजारमा चिनाउने लक्ष्य रहेको नगरप्रमुख खत्रीले बताए। भ्रमण वर्षभरि चारवटै पालिकाले प्रत्येक महिना कम्तीमा एउटा संयुक्त रूपमा नगरकोट केन्द्रित पर्यटक लक्षित कार्यक्रम सञ्चालन गर्ने र सबै पालिकाले आफ्ना नगरहरूमा पनि पर्यटकीय गन्तव्य विकास गर्ने योजना रहेको उनले जानकारी दिए।
नगरपालिकाका उपप्रमुख रमेश बुढाथोकीले नगरकोटको सूर्योदय, सूर्यास्त र हिमाली दृश्यका साथै यहाँका वडा नम्बर १ देखि ९ सम्मका सम्पदाहरूको प्रचारप्रसार गर्ने र सबै पर्यटकीय गन्तव्यलाई देश विदेशमा चिनाउने गरी भ्रमण वर्ष सफल पार्ने बताए। नगरकोट पुग्ने सडक स्तरोन्नति गरिएको, चारवटै पालिकाबाट सहज पहुँचको व्यवस्था गरिएको, काठमाडौं-नगरकोट सिधा बस सेवा सञ्चालन गरिएको र नगरकोटलाई झकिझकाउ बनाइएको उनले जानकारी दिए।
नगरकोट नाल्दुम पर्यटन विकास समितिका अध्यक्ष नवीन लामाले नगरकोट आउने पर्यटकलाई एक वर्षसम्म खान र बस्नमा १० देखि १५ प्रतिशतसम्म छुट दिने व्यवस्था गरिएको बताए।




