काठमाडौं । खोटाङको सदरमुकाम दिक्तेलमा रुपाकोट मझुवागढी नगरपालिकाको आयोजनामा पहिलोपटक ‘रेडपाण्डा तथा थार महोत्सव–२०८२’ सफलतापूर्वक सम्पन्न भएको छ। मुन्दुम ट्रेल भ्रमण वर्ष २०२५ लाई लक्षित गर्दै दुई दिनसम्म चलाएको महोत्सवले स्थानीय संस्कृति, प्रकृति संरक्षण र पर्यटन प्रवर्द्धनमा सकारात्मक सन्देश दिएको छ।
महोत्सवको मुख्य आकर्षणको रूपमा ‘रेडपाण्डा–थार रुट’ सार्वजनिक गरिएको छ, जसले मध्यपहाडी लोकमार्गसँग जोडिने पदयात्रा मार्गलाई नयाँ पहिचान दिने विश्वास गरिएको छ। यो रुटको औपचारिक उद्घाटन अभिनेता दयाहाङ राईले गरे।
महोत्सवमा विभिन्न जातीय समुदायका झाँकी, परम्परागत खाना, भेषभूषा, र जीवनशैली झल्काउने स्टलहरू दर्शकका आकर्षण बने। रुपाकोटको २६०० मिटर उचाइबाट सूर्योदय, सगरमाथा र तराईका फाँटहरूको दृश्यावलोकनले सहभागीहरूलाई लोभ्यायो।
उपप्रमुख विशन राईका अनुसार, तीन दिनको पदयात्राबाट पूरा गर्न सकिने ‘मुन्दुम ट्रेल रेडपाण्डा–थार रुट’ दिक्तेललाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गन्तव्य बनाउने सम्भावना बोकेको छ।
नगर प्रमुख तीर्थराज भट्टराईले आगामी वर्ष रेडपाण्डा र थारबारे अन्तर्राष्ट्रिय सम्मेलन आयोजना गर्ने तयारी भइरहेको जानकारी दिएका छन्। पर्यटन मन्त्रालय र विश्वविद्यालयहरूसँग छलफल अघि बढिसकेको बताउँदै उनले महोत्सवलाई अन्तर्राष्ट्रियस्तरमा लैजान स्थानीय तह प्रतिबद्ध रहेको बताए।
महोत्सवमा हजारौं दर्शकको उपस्थिति र स्टलहरूमा गरिएको लाखौं रुपैयाँको कारोबारले स्थानीय व्यवसायीहरूलाई उत्साहित बनाएको छ। आयोजक समितिका संयोजक मुगाधन राईले महोत्सवले पर्यटन र आर्थिक विकास दुवैमा सकारात्मक संकेत देखाएको बताए।
सरकारले ‘मुन्दुम ट्रेल’ लाई १०० पर्यटकीय गन्तव्यमध्ये एकमा सूचीकृत गरेको छ। भ्रमण वर्ष २०२५ मा एक लाख पर्यटक भित्र्याउने लक्ष्यसहित खोटाङ र भोजपुरका स्थानीय तहहरूले विविध कार्यक्रमको तयारी गरिरहेका छन्।




