काठमाडौँ । सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले वीरगन्जमा सामाजिक सद्भाव खल्बल्याउने घटनामा संलग्न दोषीहरूलाई पहिचान गरी कानुनबमोजिम कारबाही गर्न निर्देशन दिएका छन्।
मन्त्री गुप्ताले आज एक विज्ञप्ति जारी गर्दै धार्मिक, सांस्कृतिक र जातीय विविधताबीच आपसी सम्मान र भाइचाराको भावना प्रदर्शन गर्नु सबै नागरिकको कर्तव्य भएको उल्लेख गरेका छन्। उनले समाजमा शान्ति र सहिष्णुता कायम राख्न सबै पक्षबाट संयम र समझदारीको खाँचो औंल्याएका छन्।
विज्ञप्तिमा भनिएको छ, “कुनै पनि बहानामा आपसी सद्भाव भङ्ग गर्ने कार्य दुःखद् र चिन्ताजनक हो। नागरिकहरूले एकअर्काको धार्मिक विश्वास र आस्थाप्रति सम्मान जनाउनु सहअस्तित्वको आधार हो।”
झडपपछिको स्थितिलाई मध्यनजर गर्दै मन्त्री गुप्ताले स्थानीय प्रशासन र सुरक्षा निकायसँग निरन्तर सम्पर्कमा रहेको जानकारी दिएका छन्। उनले घटनाका दोषीहरूलाई पहिचान गरी कानुनी दायरामा ल्याउन प्रहरी प्रशासनलाई निर्देशन दिएका छन्।
मन्त्री गुप्ताले हनुमान जयन्तीको अवसरमा वीरगन्जमा निकालिएको शोभायात्राका क्रममा भएको झडपबाट उत्पन्न तनाव र त्यसपछिका घटनाक्रमप्रति गम्भीर चासो व्यक्त गरेका छन्। विज्ञप्तिमा झडपपछि दुवै समुदायका प्रतिनिधि र विभिन्न राजनीतिक दलको सर्वदलीय बैठक बसेर घटनाको समीक्षा गरिएको उल्लेख छ।
उक्त बैठकबाट तयार भएको पाँच बुँदे सहमतिअनुसार दोषी पहिचान, अनुसन्धान र कारबाही प्रक्रियालाई अगाडि बढाउन मन्त्री गुप्ताले आग्रह गरेका छन्। मुलुकको आर्थिक तथा औद्योगिक केन्द्रका रूपमा परिचित वीरगन्जमा सामाजिक सद्भाव खल्बल्याउने प्रयासप्रति गहिरो चिन्ता व्यक्त गर्दै उनले सबै वीरगन्जवासीलाई संयमित र सजग रहन अनुरोध गरेका छन्।



