भोजपुर। मुन्दुम पदमार्गको विकास तथा प्रवर्द्धनका लागि भोजपुरको चखेवामा रैथाने खाना महोत्सव सम्पन्न भएको छ। यहाँ आउने पर्यटकलाई लक्षित गरेर यो महोत्सव आयोजना गरिएको हो।
महोत्सवमा टेम्केमैयुङ गाउँपालिकामा पाइने कोदो, फापर, गुन्द्रुक, भटमासको किनिमा, भुटेको मकै, कुखुराको वाचिपा (तिते) लगायतका रैथाने परिकारहरूका साथै स्थानीय उत्पादनको प्रदर्शनी गरिएको थियो। त्यस्तै माछाको सुकुटी, पाहा, कोदोको मःम र कोदोको ढिडो जस्ता विशेष परिकारहरू पनि प्रदर्शनमा राखिएका थिए।
स्थानीय स्तरमा उत्पादित वस्तुहरूको बजारीकरण गर्नुका साथै यहाँ आउने पर्यटकहरूलाई स्थानीय खानाका परिकारहरूबारे जानकारी दिने उद्देश्यले रैथाने खाना महोत्सव आयोजना गरिएको गाउँपालिका उपाध्यक्ष रमादेवी राईले बताए। मुख्य रूपमा मुन्दुम पदमार्गमा आउने पर्यटकहरूलाई यस क्षेत्रको विशिष्ट खानाको बारेमा जानकारी दिनु महोत्सवको प्रमुख लक्ष्य रहेको उपाध्यक्ष राईको भनाइ छ।
गाउँपालिकाको संयोजन र पर्यटनमा आधारित पर्यटन विकास परियोजनाको आर्थिक सहयोगमा महोत्सव सञ्चालन गरिएको हो। महोत्सवले यहाँका स्थानीय उत्पादनको बजारीकरणमा टेवा पुर्याउनुका साथै स्थानीय बासिन्दाको जीविकोपार्जनमा पनि सहयोग पुग्ने गाउँपालिका अध्यक्ष सरोज बस्नेतले बताए। मुन्दुम भ्रमण वर्ष सन् २०२५ लाई सफल बनाउन पनि यो महोत्सव आयोजना गरिएको उहाँको भनाइ छ।
चखेवामा रैथाने महोत्सव सञ्चालन भएपछि स्थानीयवासी उत्साहित भएका छन्। यहाँ आउने पर्यटकहरूलाई स्थानीय उत्पादनका स्वादिष्ट परिकारहरू खुवाउने योजना होटल व्यवसायीहरूको छ। पर्यटकहरूलाई आकर्षित गर्ने उद्देश्यले नयाँ वर्षको अवसरमा दुई दिने यो महोत्सव आयोजना गरिएको हो।




