राँझा (बाँके)। सीमावर्ती भारतीय बजार रुपैडिहामा किनमेल गर्न जाने नेपाली उपभोक्तालाई निरुत्साहित गर्न नेपालगन्जस्थित जमुनाह नाकामा कडाइ गरिएको छ। दैनिक उपभोग्य लगायत सबैजसो खाद्यवस्तु भारतीय बजारबाट नेपाल भित्रिँदा भन्सार राजस्व र नेपालगन्जको व्यवसायमा नकारात्मक असर परेकाले मुख्य भन्सार नाका जमुनाहमा कडाइ गरिएको नेपालगन्ज भन्सार कार्यालयका प्रमुख जनार्दन पौडेलले बताएका छन्।
उनले भने, “एक सयभन्दा बढी मूल्यको वस्तु नेपाल ल्याउँदा भन्सार राजस्व तिर्नुपर्ने कानुनी व्यवस्था भए पनि व्यावहारिकताका आधारमा दैनिक उपभोग्य वस्तु आयातमा केही सहुलियत दिँदा भन्सार राजस्व असुली र नेपालगन्जको व्यापार व्यवसायमा नकरात्मक असर परेकाले कडाइ गरिएको हो। राजस्व चुहावट नियन्त्रण गर्दै नेपालगन्ज भन्सार कार्यालयको राजस्व असुली लक्ष्य हासिल गर्न राजस्व परामर्श समितिको निर्णयानुसार जमुनाह नाकामा कडाइ गरिएको छ।”
प्रमुख पौडेलका अनुसार ग्रामीण नाकामा पनि सुरक्षा गस्ती टोलीले नियमित कार्यलाई थप सक्रियताका साथ अगाडि बढाएको छ। नेपालगन्जका व्यवसायीहरूले बाँकेका प्रमुख जिल्ला अधिकारी धर्मराज जोशी र नेपालगन्ज भन्सार कार्यालय प्रमुख पौडेललाई जमुनाह नाकामा भन्सार कडाई गर्न पटकपटक आग्रह गर्दै आएका थिए।
बाँकेका प्रमुख जिल्ला अधिकारी जोशीले भने, “भन्सार कडाइ गर्दा सुरुआतमा कतिलाई अप्रिय पनि लाग्ला, ससाना कुरामा पनि किन टाइट गरेको हो भनेर गुनासो पनि आउन थालेको छ। एक बोरा चिनी, एक बोरा चामलमा पनि राष्ट्रिय कर छ। नेपालकै खान्छु बरु कम खान्छु भनेर यतैको किन्न थाल्यौँ भने यहीको व्यापार फस्टाउँछ, त्यसैले हामीले भन्सारलाई अलिकति टाइट गर्न खोजेका छौँ।”
नेपालगन्ज भन्सार कार्यालयले विगतका आर्थिक वर्षमा लगातार निर्धारित लक्ष्य हासिल गर्न सकेको छैन। गत आवमा लक्ष्य हासिल नभएपछि चालु आर्थिक वर्ष २०८१/८२ का लागि लक्ष्य घटाइएको थियो। यद्यपि, चालु आवको आठ महिनामा लक्ष्यको ४६.५ प्रतिशत मात्र राजस्व सङ्कलन भएको छ। कार्यालयले साउनदेखि फागुनसम्म १२ अर्ब ६५ करोड ९६ लाख राजस्व सङ्कलन गरेको छ भने वार्षिक लक्ष्य २७ अर्ब १८ करोड ३५ लाख रहेको छ।




