देश

विशेष अदालतको फैसला चित्त नबुझेपछि अख्तियार सर्वोच्चमा

काठमाडौँ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दामा विशेष अदालतबाट भएको फैसलामा असन्तुष्टि जनाउँदै मंगलबार सर्वोच्च अदालतमा पुनरावेदन दर्ता गरेको छ।

आयोगले साबिक प्रदेश नं ५ (लुम्बिनी प्रदेश) को कृषि तथा सहकारी मन्त्रालयका तत्कालीन प्रदेश सचिव वैकुण्ठ अधिकारीविरुद्ध रु ४३ लाख ३७ हजार पाँच सय बराबरको भ्रष्टाचार मुद्दा दायर गरेको थियो। आर्थिक वर्ष २०७५/७६ को स्वीकृत वार्षिक कार्यक्रमअनुसार कृषि विकास कार्यक्रम अन्तर्गत कृषि यान्त्रिकरण कार्यक्रम सञ्चालनका लागि सम्झौता पत्रमा उल्लेख भएबमोजिम मिनिटिलर खरिद नगरी कम गुणस्तरको खरिद गरी भ्रष्टाचार गरेको अभियोगमा मुद्दा दर्ता गरिएको थियो। उक्त मुद्दामा विशेष अदालतले २०८० चैत १९ गते फैसला सुनाएको थियो।

त्यसैगरी, आयोगले तत्कालीन प्रदेश सचिव अधिकारीसमेतका प्रतिवादी र सामान आपूर्तिकर्ताविरुद्ध रु एक करोड ३१ लाख ६० हजार बराबरको भ्रष्टाचार गरेको अभियोगमा अर्को मुद्दा दायर गरेको थियो। विशेष अदालतले यस मुद्दामा २०८१ वैशाख ३१ गते फैसला गरेको थियो। यी दुवै फैसलामा चित्त नबुझेपछि आयोगले सर्वोच्च अदालतमा पुनरावेदन गरेको आयोगका प्रवक्ता राजेन्द्रकुमार पौडेलले जानकारी दिए।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *