देश

२५ करोड काण्ड : ट्रक चालक र मुख्य योजनाकारविरुद्ध मुद्दा, सुन तस्करीको सञ्जाल खुलेको आशंका

काठमाडौं । टोखाबाट बरामद भएको २५ करोड रुपैयाँ बराबरको युरो र डलर प्रकरणमा ट्रक चालक कुसाङ लामा ‘फुच्चे’ र सिन्धुपाल्चोकका नारायण पौडेलविरुद्ध राजस्व अनुसन्धान विभागले मुद्दा दायर गरेको छ।

विभागका महानिर्देशक चण्डीप्रसाद घिमिरेका अनुसार, उनीहरूविरुद्ध विदेशी विनिमय ऐन २०१९ अन्तर्गत मुद्दा दर्ता गरिएको हो। काठमाडौं जिल्ला अदालतमा दायर मुद्दामा २५ करोड ३४ लाख ७८ हजार बिगो मागदाबी गरिएको छ। साथै बरामद नगद जफत गर्न माग गरिएको छ।

गत चैत ४ गते राति टोखा झोर महांकालबाट ना७ख १६५२ नम्बरको ट्रकमा लुकाएर लैजाँदै गरिएको सो भारी रकम फेला परेको थियो। अनुसन्धानले ट्रकमा रहेको नगदको स्रोत नारायण पौडेल रहेको देखाएको छ । तर अहिले उनी फरार छन् ।

नारायण पौडेललाई पुराना खासा व्यापारीका रूपमा चिनिन्छ। तिब्बती महिलासँग विवाह गरेका उनले पहिले खासा हुँदै व्यापार गर्थे, पछि सुन तस्करीमा लागे। तातोपानी नाका बन्द भएपछि केरुङ नाका तर्फ तस्करी मार्ग परिवर्तन भएको बताइन्छ।

अनुसन्धान अधिकारीहरूका अनुसार, २५ करोड रुपैयाँको नगद केरुङ हुँदै सुन खरिदका लागि लैजाँदै गरिएको थियो। यो सुन तस्करीको तयारी रहेको आशंका गर्दै थप अनुसन्धान भइरहेको छ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *