काठमाडौं । थाइल्याण्डको राजधानी बैंककबाट काठमाडौंसम्मको उडानमा गाँजा तस्करी गर्ने भारतीय समूहको गतिविधि तीव्र बनेको छ। पछिल्ला केही दिनमा लगातार भारतीय नागरिकहरू त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ठूलो परिमाणमा गाँजासहित पक्राउ परेका छन्।
गएराति थाई एअरवेजको उडान नम्बर मार्फत काठमाडौं आइपुगेका भारतीय नागरिक विशाक विजय साढे १० बजे गाँजासहित पक्राउ परेका हुन्। उनका साथबाट ६ किलो गाँजा बरामद गरिएको छ। उनले गाँजा लगेजमा राखी भन्सार प्रक्रिया पूरा गरेका थिए। तर, सादा पोशाकमा खटिएका सुरक्षाकर्मीले उनलाई विमानस्थलमै नियन्त्रणमा लिएको बताइएको छ।
यसअघि गत बिहीबार राति अर्का भारतीय नागरिक इरफान अहमद बसिर १० किलो गाँजासहित पक्राउ परेका थिए। उनले चकलेट र चाउचाउको प्याकेटमा लुकाएर गाँजा ल्याउने प्रयास गरेका थिए।
त्यसअघि चैत १४ र १६ गते पनि बैंककबाट आएका भारतीय नागरिकले क्रमशः २० केजी र ६ केजी गाँजा ल्याउने प्रयास गरेका थिए। यी सबै तस्करीका घटना थाई एअरवेजकै उडानमार्फत भएका हुन्।
गाँजा तस्करीको यो श्रृंखलाले त्रिभुवन विमानस्थलमा सुरक्षा चुनौती थपिएको छ। लागुऔषध अनुसन्धान ब्युरोले घटनाबारे थप अनुसन्धान गरिरहेको छ भने तस्करीमा संलग्न समूहबारे सूक्ष्म अध्ययन सुरु गरिएको छ।
बैंकक–काठमाडौं मार्ग अब लागुऔषध तस्करीको हटस्पट बन्ने खतरा देखिएको छ। यसरी पटक–पटक तस्कर पक्राउ पर्नु राज्य संयन्त्र र विमानस्थल सुरक्षा प्रणालीको सतर्कता बढाउन जरुरी भएको संकेत हो।



