दमौली (तनहुँ) । विक्रम संवत् २०८१ मा तनहुँको पर्यटकीय गन्तव्य बन्दीपुरमा दुई लाख पर्यटकले भ्रमण गरेका छन्। बन्दीपुर भ्रमण वर्ष सचिवालयका अनुसार उक्त अवधिमा दुई लाख दश हजार पर्यटकले बन्दीपुरको अवलोकन गरेका हुन्।
भ्रमण वर्ष सचिवालयले दिएको जानकारी अनुसार, बन्दीपुरमा ६० हजार विदेशी र एक लाख ५० हजार स्वदेशी पर्यटक भित्रिएका छन्।
गत जनवरी १ तारिखदेखि सुरु भएको बन्दीपुर भ्रमण वर्षको अवधिमा पूर्वाधार विकास, तथ्याङ्क सङ्कलन, दक्ष जनशक्ति उत्पादन र पर्यटन व्यवसायीको स्तरमापन जस्ता कार्यक्रमहरू सञ्चालन गरिएको सचिवालयले जनाएको छ। पर्यटकहरूलाई प्रशस्त किनमेलको अवसर प्रदान गर्ने र उनीहरूको बसाइलाई लम्ब्याउने उद्देश्यले अतिथि सत्कार लगायतका गतिविधिहरूलाई गुणस्तरीय बनाइएको छ। यसका साथै पर्यटकीय गन्तव्य र स्थानीय उत्पादनको विस्तार तथा पर्यटकीय सेवा सुविधाहरूमा पनि जोड दिइएको छ।
बन्दीपुर भ्रमण गर्ने विदेशी पर्यटकहरूमा जापान, चीन, इटाली, स्पेन, नेदरल्याण्ड्स, फ्रान्स, अमेरिका, जर्मनी, डेनमार्क, पाकिस्तान, अष्ट्रेलिया, संयुक्त अधिराज्य, दक्षिण कोरिया, बेल्जियम, थाइल्याण्ड, स्विट्जरल्याण्ड, मलेसिया, पोर्चुगल, चेक रिपब्लिक, इरान, भारत, ग्रिस र अर्जेन्टिना लगायतका देशका नागरिक रहेका छन्।




