समाचार

कम्युनिस्ट आन्दोलनमा महत्वपूर्ण योगदान पुर्‍याएका सात व्यक्तित्वलाई ‘कम्युनिस्ट योद्धा’ घोषणा गर्ने एमालेको निर्णय

काठमाडौं । नेकपा एमालेले पार्टी स्थापना दिवसको अवसरमा कम्युनिस्ट आन्दोलनमा महत्वपूर्ण योगदान पुर्‍याएका सात व्यक्तित्वलाई ‘कम्युनिस्ट योद्धा’ को रूपमा सम्मान गर्ने घोषणा गरेको छ। सोमबार च्यासलस्थित पार्टी मुख्यालयमा बसेको सचिवालय बैठकले यस सम्बन्धमा निर्णय गरेको हो।

उपमहासचिव प्रदीप ज्ञवालीका अनुसार वैशाख ९ गते विशेष कार्यक्रम आयोजना गरी सम्मान गरिनेछ। सम्मान पाउनेमा कञ्चनपुरका लालबहादुर विश्वकर्मा, जाजरकोटका स्वर्गीय रत्न शर्मा न्यौपाने, दाङका शोभारम बस्नेत, गोरखाकी बासस्वती देवकोटा, काठमाडौंकी शान्ता मानवी, सप्तरीका सत्यनारायण मण्डल र झापाका हरिचरण शिवाकोटी छन्।

पार्टीले वैशाख ११ गते गणतन्त्र दिवसलाई विशेष उत्सवका रूपमा मनाउने तयारी पनि अघि सारेको छ। ज्ञवालीका अनुसार सो दिन निरंकुश राजतन्त्र अन्त्य भई गणतन्त्रको औपचारिक घोषणा भएको दिन भएकोले यसको ऐतिहासिक महत्त्वलाई जनमानसमा सशक्त रूपमा स्थापित गर्न राजधानी काठमाडौंमा भव्य कार्यक्रम आयोजना गरिनेछ।

ूयो दिन जनताले जितेको दिन हो, उपमहासचिव ज्ञवालीले भने,आजको पुस्तालाई लोकतन्त्र, स्वतन्त्रता र गणतन्त्रको महत्व बुझाउन हामी यो दिनलाई सेलिब्रेशनको रूपमा मनाउनेछौं। स्थापना दिवस तथा गणतन्त्र दिवसलाई विशेष ढंगले मनाउने निर्णयमार्फत एमालेले पार्टीभित्र सन्देश प्रवाह र जनस्तरसम्म आफ्नो पहुँच विस्तार गर्ने प्रयास थालेको देखिन्छ। ‘कम्युनिस्ट योद्धा’को सम्मान कार्यक्रमले पुराना योगदानकर्तालाई सम्झनुका साथै नयाँ पुस्तालाई पार्टीको ऐतिहासिक भूमिका सम्झाउने उद्देश्य लिएको बुझिएको छ।

स्थापना दिवसको सम्मान कार्यक्रम र गणतन्त्र उत्सवमार्फत एमालेले आफ्नो राजनीतिक धरातल बलियो बनाउने, पुराना योगदानलाई उजागर गर्ने र नयाँ पुस्तासँग आत्मीयता गाँस्ने प्रयास गरेको देखिन्छ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *