मुख्य समाचार

नेविसंघ, तरुण दल र महिला संघको तदर्थ समिति भंग हुने सम्भावना

काठमाडौं । नेपाली कांग्रेसले तोकिएको समयसीमाभित्र महाधिवेशन गर्न नसक्ने आफ्ना भ्रातृ संस्थाहरूको केन्द्रीय तदर्थ समिति भंग गर्ने भएको छ। पार्टीले १३ वटा भ्रातृ संस्थाहरूलाई यस वर्षको चैत महिनाभित्र महाधिवेशन सम्पन्न गर्न निर्देशन दिएको थियो।

कांग्रेसले दिएको समयसीमाभित्र ५ वटा भ्रातृ संस्थाले मात्र महाधिवेशन सम्पन्न गरी नयाँ कार्यसमिति चयन गरेका छन्। तदर्थ समिति रहेका सातवटा भ्रातृ संस्थाले अधिवेशन गर्न सकेनन् भने ठाकुर संघमा तदर्थ समिति समेत गठन भएको छैन।

पार्टीका प्रमुख भ्रातृ संस्थाका रूपमा रहेका नेपाल विद्यार्थी संघ (नेविसंघ), तरुण दल र महिला संघले पनि अधिवेशन गरी नयाँ नेतृत्व चयन गर्न सकेनन्। महाधिवेशन गर्न नसक्ने अन्य भ्रातृ संस्थाहरूमा किसान महासंघ, दलित संघ, तामाङ संघ र मगर संघ रहेका छन्।

कांग्रेसका एक पदाधिकारीका अनुसार तदर्थ समितिमा रहेका सबै भ्रातृ संस्थाहरू भंग हुनेछन्। भ्रातृ संस्थाहरूमा नयाँ समिति कुन विधिबाट ल्याउने भन्नेबारे पार्टीको बैठक बसेर मात्र निर्णयमा पुगिने उनले बताए।

यसैबीच, लोकतान्त्रिक आदिवासी जनजाति महासंघ, लोकतान्त्रिक अपांग संघ, भूतपूर्व सैनिक संघ, प्रजातान्त्रिक सेनानी संघ र मुस्लिम संघले भने अधिवेशन सम्पन्न गरी नयाँ नेतृत्व चयन गरिसकेका छन्।

लोकतान्त्रिक आदिवासी जनजाति महासंघमा ओमबहादुर घर्तिमगर, लोकतान्त्रिक अपांग संघमा माधव चम्लगाईं, भूतपूर्व सैनिक संघमा गर्जबहादुर गुरुङ, प्रजातान्त्रिक सेनानी संघमा बालकृष्ण दाहाल र मुस्लिम संघमा अताबुल मन्सुरीको नेतृत्वमा नयाँ कार्यसमिति बनेको छ। लोकतान्त्रिक आदिवासी जनजाति महासंघ र लोकतान्त्रिक अपांग संघले पहिलो पटक महाधिवेशन सम्पन्न गरेका हुन्।

हाल नेविसंघमा दुजाङ शेर्पा, तरुण दलमा विद्धान गुरुङ, महिला संघमा उषा राउत मिश्र, किसान महासंघमा गणेश तिमिल्सिना र दलित संघमा लोकबहादुर विश्वकर्मा तदर्थ समितिका सभापति रहेका छन्। नेविसंघमा ७५२, तरुण दलमा ४०१, महिला संघमा ५३ र किसान महासंघमा ४६ सदस्यीय तदर्थ समिति रहेका छन्।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *