देश

बिस्केट जात्राको रौनक: भक्तपुरमा हात नभएको लिङ्गो उठाइयो

भक्तपुर। भक्तपुरमा आठ रात नौ दिनसम्म चल्ने बिस्केट जात्राको पूर्वसन्ध्यामा आज भक्तपुरको पोटरीस्क्वायरस्थित कुमाले टोलमा हात नभएको लिङ्गो ठड्याइएको छ। प्रत्येक वर्ष चैत मसान्तका दिन बिहान ११ बजे यो लिङ्गो विधिपूर्वक पूजा गरी ठड्याउने परम्परा छ।

बिस्केट जात्राको अवसरमा उठाइएको यो लिङ्गो जात्राको अन्तिम दिन वैशाख ५ गते बिहान ढालिनेछ। कुमाले टोलमा लिङ्गो ठड्याएपछि दिउँसो भैरव र भद्रकालीको पूजा गरी साँझ भेलुखेलमा हातसहितको नाग–नागिनीको प्रतीक रहेको तान्त्रिक विधिद्वारा तयार पारिएको ५५ हात लामो इन्द्रध्वजासहितको लिङ्गो ठड्याइनेछ। यो विश्वप्रसिद्ध लिङ्गो जात्रा वैशाख १ गते दिनभर जात्रा गरेर साँझ विधिपूर्वक ढालिने प्रचलन छ।

यसैगरी, मध्यपुरथिमि–८ बोडेस्थित महालक्ष्मी मन्दिर अगाडि पनि आज बिहान लिङ्गो ठड्याइएको छ। मध्यपुरथिमि नगरपालिकाका प्रमुख सुरेन्द्र श्रेष्ठसहित जनप्रतिनिधि र स्थानीयको सहभागितामा तान्त्रिक विधिपूर्वक लिङ्गो ठड्याइएपछि थिमि क्षेत्रमा जात्रा एवं पर्व विधिवतरूपमा सुरु भएको मानिन्छ। स्थानीय दिलकृष्ण प्रजापतिका अनुसार लिङ्गो ठड्याएपछि मठमन्दिरमा मेला लाग्ने र भोज सुरु हुने परम्परा छ।

प्रजापतिले भने, “महालक्ष्मी मन्दिर अगाडि लिङ्गो उठाएर जिब्रो छेड्ने जात्राको साइत गरिएको छ। यस मन्दिर अगाडि लिङ्गो उठाएपछि जिब्रो छेड्ने जात्रा पनि सुरु भएको मानिन्छ।” आजै कुमारीको रथ लहीटोलमा पु¥याइने र राति करिब ९ बजे निलबाराही जङ्गलबाट ल्याएको दाउरा बालेर पूजा गरेपछि २८ वर्षीय सुजन वांग श्रेष्ठले व्रत प्रारम्भ गरी वैशाख २ गते जिब्रो छेड्ने कार्यक्रम रहेको छ।

व्रत सुरु भएपछि जिब्रो छेड्ने व्यक्तिले केही खान नहुने, महिलासँग बोल्न तथा छुन नहुने, कुकुर, कुखुरा, बिरालोलगायतका पशुपक्षीलाई छुन नहुने परम्परा छ। मध्यपुरथिमिमा बिस्केट जात्राको अवसरमा सिन्दुरजात्रा, विष्णुवीर जात्रा, रात्रिको चान्हेसिया जात्रा र सिद्धिकाली जात्रालगायतका जात्रा एवं पर्व स्थानीयले भव्यरूपमा मनाउने गरेका छन्।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *