चीनमा चलेको तीव्र हावाहुरीका कारण जनजीवन प्रभावित बनेको छ । बेइजिङलगायत विभिन्न शहरहरूमा सयौँ हवाई उडान रद्द हुनुका साथै प्रमुख पर्यटकीय स्थलहरू बन्द गरिएका छन् ।
हावाहुरीले केही रेल सेवाहरू पनि अस्थायी रूपमा रोकिएका छन् । चीनको मौसम विज्ञान प्रशासनले जनाए अनुसार तीव्र हावा चिसो वायुमण्डलीय चक्रवातका कारण उत्पन्न भएको हो । यसले पूर्व र दक्षिणतर्फ सर्दै शुक्रबारदेखि नै असर पारिरहेको छ ।
अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार बेइजिङले पछिल्लो १० वर्षमा पहिलोपटक उच्च स्तरको हावाहुरी सतर्कता जारी गरेको छ । शनिबार बिहानसम्म बेइजिङको राजधानी अन्तर्राष्ट्रिय विमानस्थलमा ४१३ उडानहरू रद्द भएका थिए ।
त्यसैगरी, विमानस्थल जाने एक्सप्रेस मेट्रो र केही तीव्रगतिको रेल सेवा पनि स्थगित गरिएको थियो । समर प्यालेस, टेम्पल अफ हेभन, बेइजिङ चिडियाखाना र युनिभर्सल स्टुडियोज पार्कजस्ता पर्यटकीय स्थलहरू अस्थायी रूपमा बन्द गरिएका छन् ।
हावाहुरीले बेइजिङ शहरमा करिब ३०० रूख ढलेका छन् भने १९ वटा गाडीहरूमा क्षति पुगेको समाचारमा उल्लेख छ ।




