काठमाडौं । गृहमन्त्री रमेश लेखकले मान्छेलाई घरभित्रै आगो लगाएर र मान्छेका घरमा आगो लगाएर हिन्दु राष्ट्रको परिकल्पना नगर्न चेतावनी दिएका छन् ।
उनले हिन्दु धर्मले त्यस्तो नभन्ने भन्दै प्रश्न गरे–मान्छेलाई घरभित्र आगो लगाएर मारिएको छ । मान्छेका घरमा आगो लगाइएको छ । यसरी हिन्दुराष्ट्र आउँछ ? हिन्दु धर्मले यही भन्छ ?’ । गृहमन्त्री लेखकले चैत १५ गते राजावादीहरुले काठमाडौंको तीनकुनेमा गरेको हिंसात्मक प्रदर्शनलाई संविधान च्यात्ने र व्यवस्था मास्ने प्रयासको रुपमा ब्याख्या गरेका छन् ।
शुक्रबार प्रतिनिधि सभा अन्तरगतको कानुन न्याय तथा मानवअधिकार समितिको बैठकमा उनले भने, ‘त्यो संविधान च्यात्ने, व्यवस्था मास्ने प्रयास थियो ।’ राजसंस्था पुनर्स्थापनाका लागि राप्रपा नेताहरु समेतको उपस्थितिमा काठमाडौको तीनकुनेमा भएको प्रदर्शन हिंसात्मक बन्दा दुई जनाको ज्यान गएको थियो । सार्वजनिक र निजी सम्पत्तिमा तोडफोड, आगजनी र लुटपाट समेत भएको थियो ।
संसदीय समितिमा घटनाको विवरण सुनाउँदै गृहमन्त्री लेखकले वर्तमान संविधान र लोकतान्त्रिक व्यवस्थामा आफ्ना असन्तुष्टि राख्न सकिने बताए । तर लोकतन्त्रको विकल्प पछाडि फर्किने व्यवस्था हुन नसक्ने उनले बताए । तीनकुने घटनाका मुख्य आरोपी दुर्गा प्रसाईसहित राप्रपाका वरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्र, महामन्त्री धबलशम्शेर राणा लगायत पक्राउ परेका छन् । प्रसाईलाई आज भारतबाट झापा हुँदै काठमाडौं ल्याइएको छ ।
शुक्रबार प्रतिनिधि सभा अन्तरगतको कानून न्याय तथा मानवअधिकार समितिको बैठकमा बोल्दै उनले उक्त घटनामा अरोपित पक्राउ गर्ने क्रम र अनुसन्धानको क्रम जारी रहेको जानकारी दिए ।
तीनकुने क्षेत्रमा घाइते भएकाहरूको उपचार सरकारले गर्ने निर्णय मन्त्रिपरिषद्बाट भइसकेको बताउँदै उनले उपचार गराइराखेको अस्पतालभन्दा बाहिरबाट औषधि किन्नु परेमा पनि त्यसको खर्च सरकारले व्यहोर्ने जानकारी दिए ।
“ घाइतेलाई अस्पतालहरुमा पुगेरै मैले भेटेको छु,’ उनले भने, ‘घटनामा परी मृत्यु भएका दुवै जनाका परिवारलाई सरकारले राहत स्वरुप रु दश-दश लाख दिने निर्णय गरेर प्रक्रिया अघि बढिसकेको छ ।’ उनले तीनकुनेमा हिंसात्मक प्रदर्शन संविधान च्यात्ने र व्यवस्था मास्ने प्रयासको रुपमा ब्याख्या समेत गरे । ‘लोकतान्त्रिक व्यवस्थामा आगो लगाएर निरंकुशताको खोजी उचित हुदैन ।’ उनले भने ‘हिन्दु धर्म जस्तो उत्कृष्ठ धर्मलाई निकृष्ठ राजनीतिका लागि प्रयोग गर्नुहुदैन ।’




