देश

मन्त्री र सचिव आमने-सामने: पदीय आचरणको प्रश्नमा २४ घण्टे स्पष्टीकरण

काठमाडौं।ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका राज्यमन्त्री पूर्णबहादुर तामाङले मन्त्रालयका सचिव सुरेश आचार्यलाई २४ घण्टे स्पष्टीकरण सोधेका छन्। राज्यमन्त्री तामाङले सचिव आचार्यले पदीय आचरणअनुसार व्यवहार नगरेको गम्भीर आरोप लगाउँदै तत्काल जवाफ माग गरेका हुन्।

राज्यमन्त्री तामाङले जारी गरेको स्पष्टीकरण पत्रमा यही चैत २५ गते जलस्रोत तथा सिँचाइ विभागले आयोजना गरेको कार्यक्रममा आफू प्रमुख अतिथिको भूमिकामा रहेको बेला सचिव आचार्य आसन ग्रहणका लागि मञ्चमा बोलाउँदा समेत नआएको उल्लेख गरेका छन्। विभागीय मन्त्री अनुपस्थित रहेको उक्त कार्यक्रममा राज्यमन्त्रीलाई गरिएको यो व्यवहार पदीय मर्यादा विपरीत भएको तामाङको ठहर छ।

यति मात्र नभई, राज्यमन्त्री तामाङले सचिव आचार्यले राज्यमन्त्री सहभागी कार्यक्रममा आफू बस्न तयार नभएको भन्ने ‘तुच्छ अभिव्यक्ति’ दिएको पनि आरोप लगाएका छन्। यस प्रकारको व्यवहारले मन्त्रालयको कार्यशैली र राज्यमन्त्रीको भूमिकालाई अवमूल्यन गरेको तामाङको दाबी छ।

आफ्नो स्पष्टीकरण पत्रमा राज्यमन्त्री तामाङले सचिव आचार्यलाई प्रश्न गरेका छन्, ‘तपाईंले के कसको प्रभाव वा पूर्वाग्रही भावनाले विभागीय मन्त्रीको अपहेलना गर्ने उद्देश्यले कार्यक्रम बहिष्कार गर्नु भएको हो?’ बिहीबार सोधिएको यस स्पष्टीकरणमा सचिव आचार्यको अव्यवस्थित र असंयमित व्यवहारले मन्त्रालयको प्रतिष्ठा र कार्यपद्धतिमा गम्भीर असर पुर्‍याएको जिकिर गरिएको छ।

राज्यमन्त्री तामाङले सचिव आचार्यलाई निजामती सेवा ऐन, २०५९ को दफा ५९ बमोजिमको सजाय किन नगर्नुपर्ने हो भनी प्रश्न गर्दै विभागीय मन्त्री प्रमुख अतिथिको रूपमा उपस्थित हुँदा पदीय आचरण विपरीतको कार्य के कति कारणले गरेको हो भन्ने विस्तृत जवाफ माग गरेका छन्।

यस स्पष्टीकरणको बोधार्थ प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, ऊर्जामन्त्री दिपक खड्का र मुख्य सचिवलाई समेत पठाइएको छ। यस घटनाले ऊर्जा मन्त्रालयमा उच्च अधिकारीहरूबीचको सम्बन्धमा तिक्तता आएको संकेत गरेको छ।

 

 

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *