देश

दोब्बरले बढ्यो भैरवस्थान मन्दिरको भेटी

गलकोट (बागलुङ)। बागलुङको धार्मिक गन्तव्य बलेवास्थित कालभैरव मन्दिरमा भेटी सङ्कलनमा उल्लेख्य वृद्धि भएको छ । मन्दिरमा पूर्वाधार विकासले तीव्रता पाएपछि दर्शनार्थीको सङ्ख्या बढेसँगै भेटी पनि बढेको हो ।

चालू आर्थिक वर्षमा गुठी व्यवस्थापन समितिले भेटी सङ्कलनको जिम्मा लिएपछि यो वृद्धि दोब्बर पुगेको समितिले जनाएको छ । गत वर्ष ठेक्कामा नौ लाख रुपैयाँ भेटी सङ्कलन भएकोमा यस वर्ष नौ महिनामै २० लाख रुपैयाँ सङ्कलन भएको समितिका अध्यक्ष ज्ञानेन्द्रराज ढकालले जानकारी दिए। ठेक्का प्रणालीमा अन्य आम्दानीमा समस्या भएकाले समितिले नै सङ्कलनको जिम्मा लिएको उनको भनाइ छ ।

अध्यक्ष ढकालका अनुसार पछिल्लो दुई वर्षमा मन्दिरको पूर्वाधार विकासमा ५९ लाख रुपैयाँ खर्च भइसकेको छ । समितिले ११ वटा व्यावसायिक सटर निर्माण गरेपछि आगामी वर्ष आम्दानी थप बढ्ने अपेक्षा गरिएको छ ।

समुद्री सतहदेखि १४ सय मिटर उचाइमा अवस्थित यो तीन सय वर्ष पुरानो मन्दिरमा सडक सुविधा पुगेपछि धार्मिक पर्यटन प्रवर्द्धनमा टेवा पुगेको छ । बागलुङ नगरपालिका–१२ अमलाचौरमा रहेको यो मन्दिर भकुण्डे र रायडाँडाको सिमानामा पर्छ ।

मन्दिरको महिमा र प्रचारप्रसारका कारण आन्तरिक पर्यटकको आगमन बढेको छ । सडक स्तरोन्नति, पदमार्ग र व्यावसायिक सटर निर्माणले दर्शनार्थीको चाप बढाएको छ, जसले भेटी सङ्कलनमा प्रत्यक्ष प्रभाव पारेको छ । पाल्पाका राजा मणिमुकुन्द सेनका पालामा स्थापित यो मन्दिरमा मङ्गलबार र शनिबार विशेष पूजा हुन्छ भने दसैँ र चैतेदसैँमा भक्तजनको ठूलो भीड लाग्छ । मनोकामना पूरा हुने विश्वासका कारण यहाँ दर्शनार्थीको सङ्ख्या दिन प्रतिदिन बढ्दो छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *