देश

जहाँ देवीलाई चढाइन्छ दाम्लो

गोरखा। भक्तजनहरू मठमन्दिरमा पूजाआजा गरेर सामान्यतया फूल, अक्षता, भेटी र नैवेद्य अर्पण गर्छन्। तर, गोरखाको पस्लाङस्थित नाम्रुङदेवी थानमा भने देवीलाई गाईभैँसी बाँध्ने दाम्लो चढाउने अनौठो परम्परा सयौँ वर्षदेखि चलिआएको छ।

स्थानीय जुनबहादुर रानामगर, जो मन्दिरका पुजारी पनि हुन्, बताउँछन्, “गाईवस्तु बिरामी भएमा वा ब्याउन गाह्रो भएमा नाम्रुङदेवीको भाकल गर्छौँ। अनि आफूलाई अनुकूल समय मिलाएर थानमा पूजा गरेर दाम्लो चढाउने चलन छ। भाकल गरेपछि अहिलेसम्म पूरा पनि भएको छ।”

गोरखा र आसपासका जिल्लाहरू जस्तै तनहुँ, लमजुङ र चितवनबाट समेत भक्तजनहरू दाम्लो चढाउन यस मन्दिरमा आउने गर्छन्। किसानहरूले आफ्नो पशुपालन फस्टाओस्, बाली राम्रो होस्, रोगव्याधि नफैलियोस् र गाईभैँसीले पर्याप्त दूध देओस् भन्ने कामना गर्दै यहाँ पूजा गरी दाम्लो चढाउने गर्छन्।

नाम्रुङदेवीथानमा मौसम परीक्षणको लागि स्थानीय जातको कुखुराको अण्डा गाड्ने परम्परा पनि छ। पुजारी रानामगरका अनुसार, “यहाँ हरेक वर्ष चण्डी पूर्णिमाको दिन दुईवटा लोकल कुखुराको अण्डा गाड्ने चलन छ। अर्को वर्षको चण्डी पूर्णिमामा त्यसलाई निकाल्दा जस्ताको तस्तै रह्यो भने त्यो वर्ष शुभ हुन्छ भन्ने विश्वास गरिन्छ। अण्डा बिग्रियो, कुहियो भने अशुभ हुन्छ भनेर अनुमान गरिन्छ।” अण्डा बिग्रिएमा गाउँमा हुरीबतास, असिनापात, भेल, बाढी, वर्षा, डढेलो वा महामारी जस्ता विपत्ति आउने जनविश्वास रहेको छ।

गोरखा सङ्ग्रहालयका पूर्वकर्मचारी तथा इतिहासका जानकार गणेशप्रसाद भट्टराईका अनुसार, नाम्रुङदेवीथानमा दाम्लो चढाएर पूजा गर्ने चलन कहिलेबाट सुरु भयो भन्ने यकिन जानकारी नभए पनि तनहुँसुरमा मुकुन्दसेन द्वितीय राजा र गोरखामा नरभूपाल शाह राजा हुँदादेखि पूजा गर्ने गरेको अभिलेख भेटिन्छ।

नाम्रुङदेवीथानमा असारको पूर्णिमामा विशेष पूजाआजा र मेला लाग्ने गर्छ। यहाँ दैनिक नियमित पूजा पनि हुन्छ र यस मन्दिरको पुजारी मगर समुदायबाट चुनिन्छन्। भट्टराईका अनुसार यहाँ कुखुरा, परेवा र बोका पाठाको बलि पनि चढाइन्छ। पहिले सरकारले पूजा खर्च दिने गरेको भएता पनि केही वर्षयता यो खर्च कटौती गरिएको छ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *