देश

प्रहरी प्रमुखको अमर्यादित व्यवहारको आरोप, तीन दिनभित्र छानबिन समिति गठन गर्न अल्टिमेटम

काठमाडौँ । स्थानीय तहमा क्रियाशील पेसागत सङ्गठनहरूले काठमाडौँ महानगरपालिकाका महानगर प्रहरी बलका प्रमुख राजु पाण्डेलाई निलम्बन गरी छानबिन गर्न माग गरेका छन्। उनीहरूले चैत २१ गते पाण्डेको अगुवाइमा कार्यालयको मर्यादा विपरीत अनुशासनहीन, गैरकानुनी, अमर्यादित एवं अनपेक्षित घटना भएको दाबी गर्दै दोषीलाई हदैसम्मको कारबाहीको माग गरेका हुन्।

यसका लागि सङ्गठनहरूले तीन दिनभित्र अधिकार सम्पन्न छानबिन समिति गठन गरी जिम्मेवारी दिनुपर्ने माग राखेका छन्। बिहीबार काठमाडौँ महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतलाई ज्ञापनपत्र बुझाउँदै उनीहरूले आचरण विपरीत कार्य गर्ने पाण्डेलाई महानगर प्रहरी ऐनअनुसार तत्काल निलम्बन गर्न माग गरेका छन्।

स्थानीय तह कर्मचारी युनियन, नेपाल, स्थानीय तह कर्मचारी संघ नेपाल, महानगर कर्मचारी परिषद्, नेपाल यातायात स्वतन्त्र मजदुर संगठन र नेपाल वातावरण तथा सरसफाइ श्रमिक संघले संयुक्त रूपमा ज्ञापनपत्र बुझाएका हुन्।

ज्ञापनपत्रमा सोही घटनापछि प्रमुख बालेन शाहको स्वकीय सचिवको नाममा सचिवालयका कर्मचारीले सार्वजनिक सञ्चारमाध्यममार्फत उपप्रमुख, वडाध्यक्षलगायतलाई लाञ्छित गर्ने प्रयास गरेको आरोप लगाइएको छ। उनीहरूले उक्त कर्मचारीलाई पनि कानुनबमोजिम कारबाही गर्न माग गरेका छन्।

सङ्गठनहरूले कार्यालयको प्रशासनिक प्रमुखका रूपमा नेपाल सरकारले खटाएको प्रमुख प्रशासकीय अधिकृत कार्यालय प्रवेश गर्दा प्रहरी प्रमुख पाण्डे र उनको टोलीबाट अवरोध सिर्जना भएको, धरपकड गरिएको र आपत्तिजनक भनाइहरू व्यक्त भएको भन्दै आपत्ति जनाएका छन्।

विगत तीन महिनादेखि महानगरको प्रशासनिक नेतृत्वविहीनताका कारण कर्मचारीहरूले पारिश्रमिक नपाएको अवस्थामा कार्यालय सञ्चालनको जिम्मा लिएर आएका प्रमुख प्रशासकीय अधिकृतलाई रोक्न खोज्नु कानुनी रूपमा अवाञ्छनीय भएको उनीहरूको ठहर छ।

यसैबीच, वडाध्यक्षहरूको भनाइको भिडियो क्लिप काटेर गलत अर्थ लाग्ने गरी सार्वजनिक गरिएको घटनाको छानबिन गर्न पनि माग गरिएको छ। कार्यालयको सीसी क्यामेरा फुटेजको दुरुपयोगबारे छानबिन गर्न समिति गठन गर्नुपर्ने उनीहरूको माग छ।

 

 

 

 

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *