देश

पर्यटकको रोजाइ बन्दै रामपुरको तालपोखरा

रामपुर (पाल्पा)। गर्मीयाम सुरु भएसँगै रामपुर नगरपालिका–६ स्थित तालपोखरा पर्यटकहरूको आकर्षणको केन्द्र बन्न थालेको छ। पछिल्लो समय तालपोखरामा घुम्न आउने आन्तरिक पर्यटकको संख्या उल्लेख्य रूपमा वृद्धि भएको छ।

तालपोखरामा डुंगा चढ्ने, पार्कको अवलोकन गर्ने तथा फोटो, टिकटक र भिडियो बनाएर रमाउने पर्यटकहरूको चहलपहल बढेको छ। रामपुरको बेझाड बजार, किसानबारी बजार र विजयपुरबाट पक्की सडकको सहज पहुँचका कारण तालपोखरा पर्यटकहरूको प्रमुख गन्तव्य बनेको हो।

तालपोखरा संरक्षण समितिका सदस्य जनक भण्डारीका अनुसार बिदाका दिनहरूमा यहाँ घुम्न आउनेहरूको बाक्लो उपस्थिति देखिन्छ। सडक सुविधाले पर्यटकहरूलाई तालपोखरासम्म पुग्न सहज बनाएको उनको भनाइ छ। तालमा अहिले पाँचवटा डुंगा सञ्चालनमा रहेको डुंगा चालक भगवान देवकोटाले जानकारी दिए।

ताल परिसरमा पर्यटकहरूको आरामका लागि बनाइएका स्थलहरूलाई व्यवस्थित र आकर्षक बनाइएको छ। हाल दैनिक एक सयभन्दा बढी पर्यटक यहाँ आउने गरेको तथ्यांक छ। वर्षायाममा पानी जम्मा हुने सामान्य पोखरीलाई स्थानीय बासिन्दाले पर्यटकीय विकास गर्ने उद्देश्यले व्यवस्थित ताल निर्माण गरी सञ्चालनमा ल्याएपछि यो क्षेत्र उत्कृष्ट पर्यटकीय गन्तव्यको रूपमा विकास भएको हो। नेपाल सरकारले पनि यस क्षेत्रलाई एक सय पर्यटकीय गन्तव्यस्थलको सूचीमा समावेश गरी पर्यटन विकासमा सहयोग पुर्‍याएको छ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *