देश

नेपाली सेनाको गोरखा–जितगढी एकीकरण पदयात्रा सुरु

गोरखा । नेपाली सेनाले नेपालको एकीकरणमा पृथ्वीनारायण शाहले प्रयोग गरेको ऐतिहासिक पदमार्गको प्रवर्द्धन गर्ने उद्देश्यले आजदेखि तेस्रो गोरखा–जितगढी एकीकरण पदयात्रा सुरु गरेको छ। नेपाली सेना रिपुमर्दन गण गोरखाका गणपति प्रमुख सेनानी अशोककुमार क्षेत्रीले यो पदयात्रा ऐतिहासिक कोट, गढी र किल्लाहरूको संरक्षण, संवर्द्धन र प्रवर्द्धन गर्दै इतिहासलाई जीवन्त राख्ने उद्देश्यले आयोजना गरिएको बताए। सेनाको टोली ११ दिनमा ३०५ किलोमिटरको दूरी पार गर्दै जितगढी पुग्नेछ।

पदयात्रामा पृथ्वीनारायण शाहले स्थापना गरेका कालीबक्स गण, पुरानो गोरख गण, बर्दवाणी गण, सवुज गण र जितगढीको लडाइँमा सहभागी गुरुबक्स पल्टनका टोलीहरूको सहभागिता रहेको छ।

गोरखा दरबारस्थित हनुमान भन्ज्याङ चौताराबाट नेपालको राष्ट्रिय झन्डा, टर्च लाइट र पाँचवटै गणको झन्डा बोकेर सेनाको टोली पदयात्रामा प्रस्थान गरेको छ। टोलीले पालुङटारस्थित सतिघाटमा पुगेर तनहुँस्थित सेनाको टोलीलाई र तनहुँले पाल्पास्थित सेनाको टोलीलाई झन्डा हस्तान्तरण गर्ने कार्यक्रम छ।

त्यसैगरी, पाल्पाबाट रुपन्देही र रुपन्देहीबाट सेनाको टोली आगामी वैशाख ७ गते जितगढी पुगेर विजयोत्सवमा सहभागी हुने प्रमुख सेनानी क्षेत्रीले जानकारी दिए। तत्कालीन ब्रिटिस इस्ट इन्डिया कम्पनी र नेपालबीच भएको लडाइँमा नेपालले विजय हासिल गरेको वैशाख ७ गतेलाई विजयोत्सवका रूपमा मनाइँदै आएको छ। यो पदयात्राले एकीकरण पदमार्गको प्रचारप्रसार हुनुका साथै पर्यटन प्रवर्द्धनमा समेत टेवा पुग्ने विश्वास लिइएको छ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *