जलश्रोत/उर्जा

बाँकेमा भीषण हावाहुरी: पोल ढले, तार चुँडिए, नेपालगन्ज अन्धकारमा

बाँके । गए राति आएको हावाहुरीले ३३ केभिए लाइनमा समस्या सिर्जना गरेपछि नेपालगन्जको विद्युत् सेवा अवरुद्ध भएको छ। हावाहुरीले विद्युत् वितरण तथा प्रसारण लाइनका पोल र तारमा क्षति पुगेको नेपाल विद्युत् प्राधिकरण नेपालगन्ज वितरण केन्द्रले जनाएको छ।

केन्द्रका प्रमुख ई. जगन्नाथ लामिछानेका अनुसार हावाहुरीका कारण धेरै स्थानमा बिजुलीका पोल ढलेका छन्, दर्जनौं तार चुँडिएका छन् भने कतिपय ठाउँमा रुख ढल्नुका साथै हाँगाहरू भाँचिएर तारमाथि खसेका छन्। यसले ३३ केभिए लाइनमा गम्भीर समस्या उत्पन्न गरेको छ।

“नेपालगन्ज क्षेत्रबाट प्रसारण हुने चारवटै सर्किटको लाइन बन्द रहेको छ,” लामिछानेले भने, “३३ केभिए लाइनमा देखिएको समस्या मर्मत भइरहेको छ र उक्त लाइनमा समस्या समाधान हुनेबित्तिकै लाइन प्रसारण गरिनेछ।”

हावाहुरीका कारण रातिदेखि नै चारवटै सर्किटबाट प्रसारण हुने लाइन बन्द हुँदा नेपालगन्ज, डुडुवा, राप्ती सोनारी र नरैनापुरमा विद्युत् आपूर्ति ठप्प भएको छ। बत्ती नभएपछि नरैनापुरमा सञ्चार सेवा समेत बन्द भएको नरैनापुर गाउँपालिकाका अध्यक्ष शैयद इस्तियाक अहमद शाहले जानकारी दिए। यता नेपालगन्जमा खानेपानी संस्थानले वितरण गर्ने पानी नआउँदा स्थानीय बासिन्दा थप समस्यामा परेका छन्।

 

 

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *