देश

दुर्गा प्रसाईँको दोस्रो सन्देश – म नेपालमैँ छु ,मानवअधिकारको रोबरमा हो भने २४ घण्टाभित्र उपस्थित हुन्छु

काठमाडौं । मेडिकल व्यावसायी तथा चैत्र १५ गते तीनकुने क्षेत्रको राजावादी आन्दोलनको नेतृत्व गरेका दुर्गा प्रसाईँले दोस्रो भिडियो सन्देश जारी गरेका छन् ।

बुधबार सामाजिक संजाल फेसबुकमा एक भिडियो सन्देश जारी गर्दै आफ्ना वकिल र मानवअधिकारको रबरमा आफ्नो ज्यानको रक्षा गरे २४ घण्टाभित्र उपस्थित हुने बताएका छन् । साथै उनले तीनकुने घटनामा परी मृत्यु भएका पत्रकार शुरेश रजत र सविन महर्जको परिवारलाई पाँच/पाँच लाख दिने प्रतिवद्धता जनाएका छन् ।

साथै उनका परिवारलाई शिक्षा दिने समेत आश्वासन दिएका छन् । उनले आफू नभागेको र भारततिर नभएर आँफू नेपालको कुनै एक ठाउँमा सुरक्षित रहेको बताएका छन् ।

 

प्रसाईंको भनाइ :

खास गरेर धेरै मिडियामा मेरो विषयमा मिम बनाउने, मलाई जोकर बनाउने कुराहरु आए । मुर्गा प्रसाईं भनेर हिसाबकिताबको कुरा आए । हजार माइलको यात्रा शून्यबाट सुरु हुन्छ । भिजन भनेको एउटा व्यक्तिबाट सुरु हुने हो । यात्रा एउटा व्यक्तिले नै सुरु गर्ने हो ।

दुर्गा प्रसाईं अहिले ‘हरहर दुर्गा घरघर’ दुर्गा भएको छ । दुर्गा भनेको विचार हो । म भागेको होइन, जोगिएकोमात्र हो । म रहेँ भने यो अभियान र जनविद्रोह सफल हुन्छ । म रहिनँ भने यो जनविद्रोह नै समाप्त हुन्छ ।

१५ गते दुई पत्रकारको जुन मृत्यु भयो, म हार्दिक श्रद्धाञ्जली भन्न चाहन्छु । उहाँहरु दुवैका परिवारलाई ५-५ लाख रुपैयाँ आर्थिक सहयोग गर्नेछु । सरकारले राहत दिन्छ कि दिँदैन थाहा छैन, म चाहिँ निस्किएर आएपछि दिन्छु ।

म भागेको छैन । म जोगिएकोमात्र हो । त्यो दिन कस्ता कस्ता मान्छेले घरका छतबाट कसरी ताकेका रहेछन् भन्ने भिडिओ बाहिर आइरहेका छन् । म भाग्न जन्मेको होइन । विवश भएर हो । प्रचण्ड, केपी ओली र अर्को राजावादी हुँ भन्ने पार्टीकै व्यक्ति बसेर १५ गतेको आन्दोलनलाई डिसमिस बनाउनुपर्छ, दुर्गा प्रसाईंलाई पागल, जोकर बनाउनुपर्छ भनेर निर्णय गरेका रहेछन् । मबाट नेतृत्व हत्याउने कोसिस भइरहेको छ , तर म अरु ऊर्जा र उमंगका साथ, नयाँ योजनाका साथ आउँदैछु ।

मेरा वकिलहरु टंक दुलाल, सुशील पन्त, रमण श्रेष्ठ, सुरेन्द्र भण्डारी, स्वागत नेपाल, ध्रुवलाल श्रेष्ठ, भीमार्जुन आचार्यलगायत र मानव अधिकारको रोहबरमा भोलि नै उपस्थित हुन तयार छु । म नेपालकै कुनै ठाउँमा छु । सार्वजनिक हुन्छु । मेरो जीवनको ग्यारेन्टी भए २४ घन्टाभित्र उपस्थित हुन्छु ।

आईजीपी साबलाई भन्न चाहन्छु, मलाई खोज्नुपर्दैन । तपाईंले मेरो सुरक्षाको जिम्मेवारी लिनुहुन्छ भने २४ घन्टाभित्र सार्वजनिक हुन्छु ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *