काठमाडौँ । नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले स्वास्थ्य तथा जनसङ्ख्या वैज्ञानिकहरूको ११औँ शिखर सम्मेलन बिहीबारदेखि काठमाडौंमा सुरु गर्ने भएको छ।
सम्मेलनको तयारीबारे जानकारी दिन आज आयोजित पत्रकार सम्मेलनमा परिषद्का कार्यकारी सचिव डा. प्रमोद जोशीले सम्मेलनको सम्पूर्ण तयारी पूरा भएको बताए। उनले स्वास्थ्य र जनसङ्ख्यामा आधारित अनुसन्धानलाई प्रोत्साहन गर्ने, प्रमाणमा आधारित नीति तथा निर्माण प्रक्रियालाई बलियो बनाउने र वैज्ञानिक अनुसन्धानकर्ता तथा नीति निर्माताबीच सहकार्य प्रवर्द्धन गर्ने सम्मेलनको मुख्य उद्देश्य रहेको जानकारी दिए।
सम्मेलनमा नेपालसहित भारत, चीन, बेलायत, स्विट्जरल्याण्ड, जर्मनी, अमेरिका लगायत १०० भन्दा बढी देशका विज्ञहरू र एक हजारभन्दा बढी राष्ट्रिय सहभागीहरूको भौतिक तथा भर्चुअल रूपमा उपस्थिति रहनेछ। सम्मेलनमा ८७ वटा मौखिक र ११५ वटा पोस्टर प्रस्तुति हुनेछन्।
परिषद्का कार्यकारी सचिव डा. जोशीले सम्मेलनले अनुसन्धानमार्फत सहकार्यलाई बढावा दिने तथा स्वास्थ्य योजना र विकासमा सहयोग पुर्याउने विश्वास व्यक्त गरे।
परिषद्का वरिष्ठ अनुसन्धान अधिकृत डा. मेघनाथ धिमालले सम्मेलनबाट प्राप्त निष्कर्षले प्रमाणमा आधारित नीति निर्माणका लागि आधार तयार पार्दै दिगो र उत्थानशील स्वास्थ्य सेवा सुनिश्चित गर्न महत्त्वपूर्ण भूमिका खेल्ने बताए। उनका अनुसार सम्मेलनमा हरेक दिन स्वास्थ्य तथा जनसङ्ख्या क्षेत्रका अनुसन्धानका विविध विषयमा सामूहिक छलफल हुनेछ। यो सम्मेलन यही चैत ३० गतेसम्म सञ्चालन हुनेछ।




