
काठमाडौँ। नेपाल बार एसोसिएसनको २७औँ नयाँ केन्द्रीय कार्यसमितिको अध्यक्ष पदको मतगणनामा वरिष्ठ अधिवक्ता प्रा डा विजयप्रसाद मिश्रले फराकिलो अग्रता कायम राखेका छन्। ६ हजार मत गणना हुँदा प्रा डा मिश्रले आफ्ना निकटतम प्रतिद्वन्द्वी वरिष्ठ अधिवक्ता रमनकुमार श्रेष्ठलाई दोब्बरभन्दा बढी मतले पछाडि पारेका हुन्।
नेपाल बार एसोसिएसन निर्वाचन–२०८१ का प्रमुख निर्वाचन अधिकृत वरिष्ठ अधिवक्ता रामकृष्ण निरालाका अनुसार प्रा डा मिश्रले तीन हजार तीन सय ६९ मत प्राप्त गरेका छन् भने श्रेष्ठले एक हजार पाँच सय ४१ मत पाएका छन्।
त्यसैगरी, महासचिव पदमा वरिष्ठ अधिवक्ता केदारप्रसाद कोइरालाले तीन हजार दुई सय ५४ मत प्राप्त गरेका छन् भने यज्ञमणि न्यौपानेले एक हजार तीन सय ९९ मत पाएका छन्।
बारको नयाँ कार्यसमिति चयनका लागि शनिबार भएको मतदानमा ९ हजार ९९७ मतदातामध्ये ७ हजार ९९५ (८० प्रतिशत) मत खसेको थियो। २५ सदस्यीय कार्यसमितिका लागि ५७ जनाको उम्मेदवारी परेको थियो।
अध्यक्ष पदका लागि बृहत् लोकतान्त्रिक, प्रगतिशील, पेसागत, राष्ट्रवादी एवं समावेशी कानुन व्यवसायी समूहबाट प्रा डा मिश्र र व्यावसायिक कानुन व्यवसायी समूहबाट श्रेष्ठ प्रतिस्पर्धामा छन्। मतगणना जारी रहेको निर्वाचन अधिकृत निरालाले जानकारी दिए।