महोत्तरी। महोत्तरीका वन क्षेत्रमा अहिले जताततै डढेलो लागेको छ। पूर्वपश्चिम राजमार्गको दायाँबायाँ मात्र नभई चुरे पर्वत शृंखला र बीपी राजमार्गको छेउछाउका वनमा पनि डढेलोले विनाश मच्चाएको छ। जताततै जलेका ठुटा र खरानी मात्र देखिन्छ।
दैनिक डढेलोका कारण दुई-तीन वर्षयताका नयाँ बिरुवाहरू देखिँदैनन्। डढेलोले पुराना र वयस्क रुखहरू पनि मरेका छन्। वन क्षेत्रका सुकेका रुखहरूको समयमै कटान व्यवस्थापन हुन नसक्दा ती पनि जलेर ठुटा बनेका छन्। बर्दिबास र गौशाला नगरपालिकामा पर्ने राष्ट्रिय वन, सामुदायिक वन, साझेदारी वन, धार्मिक वन र सागरनाथ वन विकास परियोजनाका प्लटहरूमा डढेलोले रुखबिरुवा खरानी भएका छन्। डढेलोले साखु र अन्य संरक्षित जातका नयाँ बिरुवाहरू नष्ट हुने तथा वयस्क रुखहरू सुक्दै जाने क्रम बढेपछि वन क्षेत्र उजाड बन्दै गएको छ।
बीपी राजमार्ग नजिकै बर्दिबास–३ पाटुका सामाजिक कार्यकर्ता होमबहादुर खड्का भन्छन्, “अहिले रुखबिरुवाले पालुवा फेर्न पुरानो पात झारेका बेला वनमा लाग्ने डढेलोले आगो छिट्टै फैलन्छ। वन क्षेत्रमा दिनदिनै बढिरहेको डढेलोले रुखबिरुवा सखाप हुनुका साथै नजिकका बस्तीहरू पनि आगलागीको उच्च जोखिममा छन्।”
चुरे पहाडी क्षेत्र बर्दिबास नगरपालिकामा पर्छ भने सागरनाथ वन विकास परियोजनाका प्लटहरू गौशाला नगर क्षेत्रमा बढी छन्। पूर्वपश्चिम राजमार्गको उत्तरतर्फ सामुदायिक वन र दक्षिणतर्फ धेरैजसो परियोजनाका प्लटहरू छन्। अभिलेखमा करिब २४ हजार हेक्टर वन क्षेत्र उल्लेख भए पनि फडानी र अतिक्रमणले १६ हजार हेक्टरमा सीमित भएको छ।
बाँकी वन पनि बर्सेनि लाग्ने डढेलो र चोरी कटानले गर्दा अहिले काटिएका र डढेका रुखका ठुटा बढी देखिन्छन्। डढेलोले दुई-तीन वर्षयताका बिरुवाहरू नष्ट भएपछि पुराना रुखहरू कमजोर हुँदै जाने र नयाँ बिरुवा बढ्न नपाउँदा वन पातलिँदै गएको बर्दिबास–५ चेरु बस्तीका ८० वर्षीय भोगेन्द्रराज पौडेल बताउँछन्।
चुरे आसपासका २० भन्दा बढी र सागरनाथ वन विकास परियोजनासँग जोडिएका पनि त्यति नै संख्यामा बस्तीहरू छन्। वनसँगै जोडिएको बर्दिबास–१० खयरमाराका प्रेमध्वज लामा भन्छन्, “वनकै छेउमा बसोबास छ, डढेलोले बस्ती भेट्टाउने चिन्ताले सुत्न सकिँदैन। बर्सेनि फागुन लागेपछि डढेलोको डरले कहिल्यै छाडेन।”
वनका सुकेका पातहरू सजिलै जल्ने गरेको लामा बताउँछन्। हिउँदे वर्षाले पातपतिङ्गर भिजाउँदा आगो ढिलो फैलने विगतको अनुभव सम्झँदै वन क्षेत्र नजिकका बासिन्दा यसपालि डढेलोले डरलाग्दो रूप लिएको बताउँछन्।
पूर्वमा धनुषासँगको सीमा रातुपुलदेखि पश्चिममा सर्लाहीसँगको बााकेपुलसम्म करिब १८ किलोमिटर वन क्षेत्र फैलिएको छ। यस क्षेत्रमा चारवटा सवडिभिजन वन कार्यालय, सशस्त्र वन सुरक्षा बेस र १० ठाउँमा वन सुरक्षा पोस्ट भए पनि डढेलो नियन्त्रणमा जनशक्ति उदासीन देखिएको सर्वसाधारणको गुनासो छ।
सागरनाथ वन विकास परियोजनासँग जोडिएको हात्तीलेटका बासिन्दा राधाकृष्ण शर्मा भन्छन्, “वन क्षेत्रमा लाग्ने डढेलो कम मात्र प्राकृतिक कारणले लाग्छ, धेरैजसो बदमासहरूले आगो झोसेरै लगाउने गरेका छन्। बर्सेनि लाग्ने डढेलो रोक्न पूर्वतयारी कहिल्यै देखिएन र डढेलो लगाउने पक्राउ परेर कारबाही भएको आफूलाई याद छैन।”
वनसम्बद्ध सरकारी सेवाबाट अवकाश लिएका बर्दिबास–१ का चन्देश्वर यादवका अनुसार फागुनदेखि नै डढेलो देखिन थाल्छ। ठूला रुखहरूको घर्षणले कहिलेकाहीँ आगो लागे पनि खासगरी घाँसे, दाउरे र गोठालाहरूले डढेलो लगाउने गरेका छन्। फागुन/चैतमा वनमा डढेलो लगाएपछि वर्षासँगै नयाँ घाँस पलाउने विश्वासले वन क्षेत्र नजिकका पशुपालकहरूले डढेलो लगाउने गरेको सहायक वन अधिकृतबाट अवकाश लिएका यादवको अनुभव छ।
डिभिजन वन कार्यालयको अभिलेखअनुसार जिल्लामा सामुदायिक, धार्मिक र सागरनाथ वन विकास परियोजनासमेत गरी २४ हजार ४६५ हेक्टर क्षेत्रफलमा वन छ। अतिक्रमण गरेर घर बनाउने र खेती गर्नेलाई राजनीतिक संरक्षण मिल्ने हुँदा वन सुरक्षा चुनौतीपूर्ण बनेको नाम नबताउने वन कर्मचारी बताउँछन्।
वन क्षेत्रको सुरक्षा र व्यवस्थापनको मुख्य जिम्मेवारी रहेको डिभिजन वन कार्यालयले पर्याप्त सुरक्षाकर्मी नहुँदा सबै क्षेत्रमा गस्ती गर्न नसकिएको स्वीकार गरेको छ। वन क्षेत्रको सुरक्षा र प्रवर्द्धनका लागि वन क्षेत्रसँग जोडिएका बस्तीका बासिन्दाको सहयोग र समन्वय आवश्यक रहेको डिभिजन वन कार्यालयका प्रमुख सुभासचन्द्र दास बताउँछन्।
“हामीसँग भएको जनशक्ति परिचालन गरिरहेका छौँ, तर डढेलो नियन्त्रण स्थानीय बासिन्दाको सहयोगबिना सम्भव छैन,” उहाँ भन्नुहुन्छ, “वन क्षेत्रसँग सम्बन्धित स्थानीय तहका जनप्रतिनिधि, सामाजिक संघसंस्था र स्थानीय बासिन्दाको पहलकदमी भए डढेलो नियन्त्रणमा सफलता पाउन सकिन्छ।” यसका लागि कार्यालयले आवश्यक समन्वय गरिरहेको प्रमुख दासले बताए।




