
अर्घाखाँची। प्रधानमन्त्री केपी शर्मा ओलीले अर्घाखाँचीस्थित महर्षि पाणिनिको जन्मथलो ज्ञान, ध्यान र देवभूमिको संगम भएको बताएका छन्।
अर्घाखाँचीमा आयोजित ‘पाणिनी तपोभूमि सम्मेलन’को उद्घाटन समारोहमा बोल्दै प्रधानमन्त्री ओलीले पाणिनिको जन्मभूमि विश्वभर ज्ञानको सुरुवात भएको पवित्र भूमि भएको उल्लेख गरे। उनले भने, “विश्वव्यापी रूपमा स्थापित व्याकरणका पिता महर्षि पाणिनिको जन्मभूमि रहेको यो स्थान पवित्र छ, पुण्य छ, देवभूमि हो, यहाँबाटै ज्ञानको सुरुआत भएको हो। अरु सबै व्याकरणहरूमा पाणिनिको सूत्रलाई आधार मानिएको छ।” प्रधानमन्त्रीले पाणिनिको व्याकरणले भाषालाई सरल बनाएको र छन्दको सुरुवातसँगै संगीत तथा लयको विकास भएको पनि बताए।
पाणिनिको असाधारण योगदानको चर्चा गर्दै प्रधानमन्त्री ओलीले अष्टाध्यायीमार्फत निर्माण गरिएका तीन हजार नौ सय ५९ संस्कृत व्याकरणका सूत्रहरू आजको आधुनिक प्रविधि, विशेषगरी कृत्रिम बौद्धिकता (एआई) को विकासमा समेत प्रयोग भइरहेको जानकारी दिए।
प्रधानमन्त्री ओलीले पाणिनिले मात्र नभई शिव, ऋषि, पतञ्जलि र अन्य महर्षिहरूको तप, साधना, योग, आयुर्वेद र ज्ञान साधनाको केन्द्र भएको यस भूमिको उचित प्रचारप्रसार गरी धार्मिक तथा पर्यटकीय स्थलको रूपमा विकास गर्ने जिम्मेवारी सरकारले लिने स्पष्ट पारे। उनले आजभन्दा करिब २५ सय वर्ष पहिले पाणिनि ऋषिले तपस्या गरेर संस्कृत व्याकरणको रचना गरेको यस पुण्यभूमिको विकासमा नेपाल सरकारले प्राथमिकताका साथ काम गर्ने प्रतिबद्धता व्यक्त गरे।
दुईदिने सम्मेलनमा प्रधानमन्त्री ओलीसहित लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्य, नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवाली, नेपाली कांग्रेसका नेता डा चन्द्र भण्डारी र पुष्पा भुसाल, लुम्बिनी प्रदेशका उद्योग तथा पर्यटनमन्त्री प्रचण्डविक्रम न्यौपाने, धर्म गुरु ज्ञानानन्द सरस्वती लगायत भाषाविद्हरूको उपस्थिति रहेको छ।
लुम्बिनी प्रदेश सरकारको उद्योग पर्यटन तथा यातायात मन्त्रालय, पर्यटन विकास परिषद्, पाणिनि गाउँपालिका र पाल्पाको रैनादेवी छहरा गाउँपालिकाको संयुक्त आयोजनामा यो सम्मेलन भएको हो। अर्घाखाँचीको पूर्वी सिमानामा रहेको पाणिनि क्षेत्र प्राकृतिक रूपमा सुन्दर छ जहाँबाट उत्तरतर्फ हिमशृंखला र दक्षिणतर्फ तराईका फाँटसहित गोरखपुरसम्मको दृश्य देख्न सकिन्छ। यहाँ गुराँसका रुखहरू र विभिन्न जडीबुटीहरू पनि पाइन्छन्। पाल्पा जिल्लाको तीनधारेबाट केही मिनेट उकालो हिँडेपछि पाणिनि क्षेत्र पुग्न सकिन्छ र अहिले यहाँसम्म पक्की सडकको सुविधा उपलब्ध छ।