देश

सडक निर्माणले मालिकाधुरी जाने यात्रा अवधि छोटियो

बेनी (म्याग्दी) । म्याग्दी जिल्लाको प्रसिद्ध धार्मिक तथा पर्यटकीय स्थल मालिकाधुरी जान अब कम समय लाग्ने भएको छ। रघुगंगा गाउँपालिका–६ ठाडाखानीबाट मालिकाधुरीसम्म सडक निर्माण भएपछि यात्रा अवधि छोटिएको हो।

रघुगंगा–६ का वडा सदस्य टेकजित छन्त्यालका अनुसार ठाडाखानीबाट सरघारी हुँदै जोगीदेउराली डाँडासम्म सडक निर्माण सम्पन्न भएको छ। पहिले ठाडाखानीबाट मालिकाधुरी पुग्न तीन घण्टा पैदल हिँड्नुपर्नेमा अब सडक बनेपछि एक घण्टामै पुग्न सकिने भएको उनले बताए।

उपभोक्ता समितिका अनुसार चालु आर्थिक वर्षमा गाउँपालिकाबाट विनियोजित आठ लाख रुपैयाँ बजेटमा स्थानीय समुदायको सक्रियतामा थप १२ लाख रुपैयाँ जुटाएर सडक निर्माण गरिएको हो। पाँच वर्षअघि सुरु भएको सडकको ट्र्याक निर्माणले पूर्णता नपाएपछि देश तथा विदेशमा रहेका ठाडाखानीवासीबाट चन्दा संकलन गरी सडकलाई जोगी देउराली डाँडासम्म पुर्याइएको सडक निर्माण उपभोक्ता समितिका अध्यक्ष मनबहादुर छन्त्यालले जानकारी दिए।

गत वर्ष गाउँपालिकाबाट १० लाख रुपैयाँ र स्थानीयवासीको चन्दाबाट आठ लाख रुपैयाँ संकलन गरी सरघारीसम्म सडकको ट्र्याक खोलिएको थियो। अहिले सडकको ट्र्याक पुगेको देउरालीधुरीमा सवारीसाधन पार्किङका लागि जग्गा सम्याउने काम भइरहेको उनले बताए।

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत चेतनारायण भण्डारीले मालिकाधुरी पुग्ने सडकको ट्र्याक निर्माणमा पालिकाको बजेटसँगै स्थानीय श्रमदान र सहयोग जुटाएर उपभोक्ता समितिले उदाहरणीय काम गरेको बताए। विकासमा सरकार र समुदायको साझेदारीले उल्लेखनीय उपलब्धि हासिल गर्न सकिन्छ भन्ने उदाहरण ठाडाखानीवासीले प्रस्तुत गरेको उनको भनाइ छ। मालिकाधुरी जानका लागि मालिका गाउँपालिकाको बिमबाट पनि सडक निर्माण भइरहेको उनले जानकारी दिए।

समुद्री सतहबाट तीन हजार ४०० मिटरको उचाइमा अवस्थित मालिकाधुरीमा आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउने उद्देश्यले सडक पहुँचसँगै अन्य पर्यटन पूर्वाधार निर्माणमा जोड दिइएको गाउँपालिका कार्यालयले जनाएको छ। मालिकाधुरीबाट म्याग्दीका ३५ भन्दा बढी गाउँ तथा सिस्ने, गुर्जा, मानापाथी, धौलागिरि, नीलगिरि, अन्नपूर्ण, माछापुच्छ्रे, मनास्लुलगायत २० भन्दा बढी हिमशृंखलाको मनोरम दृश्य अवलोकन गर्न सकिन्छ। यहाँबाट सूर्योदयको दृश्य पनि अत्यन्तै मनमोहक देखिन्छ।

मालिका क्षेत्रको जंगलमा पाइने लालीगुराँस, वन्यजन्तु, पशुपन्छी, विभिन्न प्रजातिका फूल, जडीबुटी र वन पैदावारले यस क्षेत्रको आकर्षण थप बढाएको छ। धार्मिक विश्वासअनुसार मालिकाधुरीमा पूजा गरेमा मनोकामना पूरा हुन्छ। चण्डी पूर्णिमा, ज्येष्ठी पूर्णिमा, भाइटीका र बालाचर्तुदर्शीमा यहाँ विशेष पूजाआजा गरिन्छ। मालिका, कालिका र जाल्पादेवीको मूर्ति रहेको मालिका मन्दिरमा भाकल पूरा भएमा बोका र परेवाको बलि चढाउने चलन रहे पनि पछिल्लो समय बलिको विकल्पमा नरिवल चढाउने चलन सुरु भएको स्थानीय बताउँछन्। विसं १९१० देखि पूजाआजा हुँदै आएको मालिकाको नाम भगवान् शिव र पार्वती भ्रमणमा आएका बेला पार्वतीको माला खसेकाले रहन गएको किंवदन्ती रहेको स्थानीय ज्येष्ठ नागरिकहरूको भनाइ छ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *