देश

सङ्खुवासभामा शैक्षिक सत्र सुरु नहुँदै पाठ्यपुस्तक आइपुग्यो

किमाथाङ्का (सङ्खुवासभा) । सङ्खुवासभा जिल्लामा यस वर्ष शैक्षिकसत्र सुरु हुनुअगावै सबै स्थानीय तहमा पाठ्यपुस्तक पुगेको छ। भौगोलिक विकटताका कारण दुर्गम गाउँका विद्यालयमा पाठ्यपुस्तक समयमा नपुग्ने समस्यालाई यसपटक पुस्तक व्यवसायीहरूले समयमै पुस्तक उपलब्ध गराएर समाधान गरेका हुन्।

सदरमुकाम खाँदबारीका पुस्तक व्यवसायी कृष्ण भण्डारीले सरकारी बिक्री केन्द्र स्थापना गरी सामुदायिक विद्यालयलाई पाठ्यपुस्तक बिक्री गरिरहेको जानकारी दिए। सामूहिक लगानीमा बिक्रीकक्ष सञ्चालन गरी पाठ्यपुस्तक उपलब्ध गराउन थालिएको उनको भनाइ छ।

भण्डारीका अनुसार जिल्लाका १० वटै स्थानीय तहमा ८० प्रतिशतभन्दा बढी पुस्तक पुगिसकेका छन् र अन्य विद्यालयहरूले पनि पुस्तक लैजाने तयारी गरिरहेका छन्। सङ्खुवासभामा प्रत्येक कक्षाका लागि औसतमा दुई हजार पाँच सय पुस्तक आवश्यक पर्दछ। जनक शिक्षा सामग्री केन्द्रले समयमै पुस्तक छपाइ गरेका कारण यस वर्ष वितरण सहज भएको व्यवसायीहरूको भनाइ छ। यस वर्ष वैशाख १ गतेभित्र विद्यार्थीहरूको हातहातमा पाठ्यपुस्तक पुर्‍याउने गरी वितरण कार्य भइरहेको भण्डारीले बताए।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *