
बेनी। बेनी नगरपालिकाको सर्वाधिक बजेट रहेको बेनी–अर्थुङ्गे–तोरीपानी–पाखापानी सडक आयोजना निर्धारित समयभन्दा तीन महिनाअघि नै सम्पन्न भएको छ।
संघीय सरकारको १ करोड ५० लाख रुपैयाँ समपूरक अनुदान र बेनी नगरपालिकाको १ करोड ५० लाख रुपैयाँको लगानीमा निर्माण भएको यो सडक बेनी नगरपालिकाका ५, ६, ९, १० र रघुगंगा गाउँपालिकाका ५, ६, ८ नम्बर वडालाई प्रत्यक्ष लाभ पुर्याउने प्राथमिकताको आयोजना हो।
अन्य विकास आयोजनाहरू बजेट अभाव, आर्थिक संकट, निर्माण सामग्रीको मूल्यवृद्धि र सामाजिक अवरोध जस्ता कारणले सुस्त गतिमा चलिरहेको बेला, यो सडक खण्ड निर्माणको जिम्मा पाएको विकेश–दुप्चेश्वर–सुभम् जेभीले ६ महिनाको लक्ष्य राखे पनि तीन महिनामै काम सम्पन्न गरेको हो।
गत पुस १९ गते २ करोड ९ लाख रुपैयाँमा ठेक्का सम्झौता भएको यो आयोजनाको अन्तिम मिति आगामी असार २५ गते तोकिएको थियो। बेनी नगरपालिकाकी उपप्रमुख ज्योती लामिछानेको संयोजकत्वमा स्थानीय जनप्रतिनिधि, प्राविधिक र कर्मचारीसहितको अनुगमन टोलीले मंगलबार आयोजनाको निरीक्षण गरेको थियो।
उपप्रमुख लामिछानेले निर्माण कम्पनीले सम्झौता अनुसार सडक स्तरोन्नतिको काम गुणस्तरीय रूपमा सम्पन्न गरेको बताइन्। सडक र नाली ढलानमा आधुनिक उपकरण प्रयोग गरिएको र नमुना परीक्षणमा सामग्री पनि उच्चस्तरको पाइएको उनको भनाइ छ। पहिलो चरणको ठेक्काबाट बचेको २० लाख रुपैयाँ बराबरको थप काम गर्न पुनः ठेक्का आह्वान गरिएको जानकारी पनि उनले दिइन्।
नगरपालिकाका इन्जिनियर सुदिप गौतमका अनुसार आयोजना अन्तर्गत बेनी–पाखापानी सडकको प्रवेशबिन्दु, रातोपहिरो, गिठिनी र बेनी नगरपालिका–९ र १० को सिमाना पात्लेखेतमा ९०८ मिटर सडकमा भित्ता कटान, पहिरो हटाउने, सडक चौडा पार्ने, टेवा पर्खाल र नाली निर्माण गरी ढलान गरिएको छ। ढलान, नाली, ग्याबियन जाली भर्ने र मेसिनरी पर्खाल निर्माणपछि सडक यात्रा सहज र सुरक्षित भएको उनको भनाइ छ।
निर्माण कम्पनीका सञ्चालक सुवासचन्द्र कार्कीले सम्झौतालगत्तै पर्याप्त कामदार परिचालन र आवश्यक उपकरण तथा निर्माण सामग्रीको व्यवस्थापनले निर्धारित समयभन्दा अगाडि नै काम सम्पन्न गर्न सकिएको बताए। तत्कालीन जिल्ला विकास समितिले २०५६ सालमा ट्र्याक खोलेको यो सडकको बेनीदेखि अर्थुङ्गे हुँदै किराखोरसम्म करिब ६ किलोमिटर खण्ड बेनी नगरपालिकाले ढलान र कालोपत्रे गरिसकेको छ।
किराखोरबाट नेप्टेचौर हुँदै तोरीपानीको गलेश्वर माविसम्मको चार किलोमिटर सडक स्तरोन्नतिको काम प्रदेश सरकारको बजेटमा पूर्वाधार विकास कार्यालयले गत वर्षदेखि गरिरहेको छ।
बेनी नगरपालिकाका प्रमुख सुरत केसीले नेप्टेचौरको वडा कार्यालयदेखि गिठिनी हुँदै पात्लेखेततर्फको बेनी पाखापानी सडकको वैकल्पिक खण्डलाई पनि नगरपालिकाले स्तरोन्नति गरिरहेको जानकारी दिए। जिल्लाको प्राथमिकतामा रहेको बेनी–पाखापानी सडक आयोजनालाई प्रभावकारी रूपमा कार्यान्वयन गर्न नगरपालिकाले आवश्यक सहजीकरण र समन्वय गरिरहेको उनले बताए।