
काठमाडौं । सहकारी ठगी प्रकरणमा भैरहवा कारागार, रुपन्देहीमा रहेका नेपाल प्रहरीका पूर्वडीआईजी छविलाल जोशी अस्पताल भर्ना भएका छन् । उनलाई स्वास्थ्यमा समस्या भएपछि कारागार प्रशासन अस्पताल लगिएको कारागार प्रशासन स्रोतले जनाएको छ ।
अहिले स्वास्थ्य जाँच र उपचारको काम भइरहेको बताइएको छ । उनी पहिल्यैदेखि औषधि सेवन गर्दै आएको पनि कारागार प्रशासनले जनाएको छ ।
बुटवलको सुप्रिम सहकारी ठगी प्रकरणमा उनलाई रुपेन्देही जिल्ला अदालतले पुर्पक्षका लागि कारागार चलानको आदेश दिएको थियो । त्यसपछि उनी भैरहवा कारागारमा बस्दै आएका छन् । उनीविरुद्ध पोखराको सूर्यदर्शन सहकारी, कालिमाटीको स्वर्णलक्ष्मी सहकारी, चितवनको सहारा चितवन सहकारी ठगीमा मुद्दा दायर भएको थियो । यी सहकारीमा भने उनी धरौटीमा छुटेका थिए ।