देश

गुरुकुलले मौलिक सभ्यताको पुनःजागरण गर्नुपर्ने

काठमाडौँ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले नेपालको मौलिक सभ्यतालाई पुनर्जागरण गर्न गुरुकुलहरूले महत्त्वपूर्ण भूमिका खेल्नुपर्ने बताएका छन्।

गोकर्णेश्वर नगरपालिका–४ स्थित कान्ति भैरव गुरुकुलद्वारा आयोजित संस्कृत नाटक ‘प्रतिष्ठा’को शुभारम्भ गर्दै मन्त्री पाण्डेले गुरुकुलकालीन शिक्षाको महत्त्व र वर्तमान समयमा यसको आवश्यकतामा जोड दिए। उनले दार्शनिक चाणक्यले गुरुकुल शिक्षाकै माध्यमबाट समाजलाई जागृत गराएजस्तै भूमिका अहिलेका गुरुकुलहरूले निर्वाह गर्नुपर्ने बताए। नेपालको अनुपम संस्कृति र प्रकृतिलाई विश्वसामु प्रस्तुत गरी पर्यटन प्रवर्द्धन गर्न सकिने धारणा राख्दै मन्त्री पाण्डेले मन्त्रालय यस दिशातर्फ क्रियाशील रहेको जानकारी दिए।

उनले संस्कृत विश्वविद्यालयको अपेक्षित भूमिका र सुधारको आवश्यकता औँल्याउँदै यसको भौतिक सम्पत्तिको सदुपयोग गर्नुपर्ने बताए। पशुपति क्षेत्रस्थित नेपाल वेद विद्याश्रमलाई महाविद्यालयका रूपमा विकास गर्न गृहकार्य भइरहेको जानकारी पनि उनले दिए।

मन्त्री पाण्डेले संस्कृत भाषाको विकासमा जयतु संस्कृतम् संस्थाको योगदानको चर्चा गर्दै सबै सम्बन्धित संस्थाहरूलाई सहकार्य गरी अघि बढ्न आह्वान गरे। नेपाल वेद र बुद्ध दुवैको ज्ञानभूमि भएकाले यसलाई विश्वमा ज्ञानको केन्द्रका रूपमा स्थापित गर्न सकिने उनको भनाइ थियो। वर्तमान समयमा भौतिकभन्दा आध्यात्मिक पक्षको महत्त्व बढ्दै गएको परिप्रेक्ष्यमा सभ्यता, संस्कृति, पूर्वीय साहित्य र संस्कृत भाषाको गरिमाबाट समाजलाई प्रेरित गर्नुपर्नेमा उनले जोड दिए।

कार्यक्रममा संस्कृत एवं तन्त्र ज्ञानका विद्वान् प्रा डा विद्यानाथ उपाध्याय भट्टलाई सम्मान गरिएको थियो। गुरुकुल सञ्चालक समितिका अध्यक्ष प्रा डा ऋषिराम पोखरेल, सचिव प्रा डा श्रीराम अधिकारी र नाटकका लेखक डा नवराज कट्टेलले गुरुकुलमा विद्यार्थीहरूको प्रतिभा विकासका लागि यस्ता गतिविधिहरूलाई प्राथमिकता दिइने जानकारी गराएका थिए।

नाटक ‘प्रतिष्ठा’ले पूर्वीय दर्शनमा नारी शिक्षाको महत्त्वलाई उजागर गर्दै गार्गी, मैत्रीयजस्ता विदुषीहरूले बालबालिकासम्म ज्ञान फैलाउनुपर्ने सन्देश दिएको छ। वैदिक एवं धर्मशास्त्रका ग्रन्थहरूले पनि नारी शिक्षामा जोड दिएको सन्देश नाटकले प्रस्तुत गरेको छ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *