देश

डिजाइन स्वीकृत नहुँदा महाकाली पुलको बाँध निर्माण आठ महिनादेखि ठप्प

दोधारा चाँदनी (कञ्चनपुर) । महाकाली नदीमा निर्माणाधीन चार लेनको पक्की पुल छेउको पोखरीको गाइडबन्ड (बाँध) को डिजाइन स्वीकृत नहुँदा आठ महिनादेखि निर्माण कार्य ठप्प भएको छ।

गत वर्ष भदौमा महाकाली नदीको बाढीले उक्त निर्माणाधीन पोखरीको गाइडबन्ड भत्काएको थियो। बाढीले क्षति पुर्‍याएको आठ महिना बितिसक्दा पनि पुनर्निर्माण सुरु हुन सकेको छैन। बर्खा नजिकिँदै गर्दा बाँध निर्माणको सुरसार नहुँदा महाकालीको बाढी बस्तीमा पस्ने जोखिम बढेको छ।

महाकाली नदीमा निर्माण गरिएको पक्की पुलको पूर्वतर्फको गाइडबन्ड बाढीले बगाएको थियो। गत भदौमा बाढी गाइडबन्ड भत्काएर बस्तीमा पस्दा भीमदत्त नगरपालिकाका तीन वडा डुबानमा परेका थिए। बर्खा नजिकिएपछि महाकालीको बाढी गाउँ पस्ने खतरा बढेको भन्दै स्थानीय त्रसित छन्। स्थानीयले समयमै बाँध निर्माणका लागि पुल योजना कार्यालय र जिल्ला प्रशासन कार्यालयलाई पटकपटक ध्यानाकर्षण गराएका छन्।

भीमदत्त–१२ का स्थानीय कृष्णसिंह देउवाले भने, “बर्खाको समय आइसक्यो, अहिले पनि बाँध निर्माण गर्ने कुनै सुरसार छैन। समयमा बाँध बनेन भने यहाँका पाँच बस्तीका करिब पाँच हजार मान्छे विस्थापित हुन्छन्।” उनले बस्ती मात्र नभई महाकाली पुल जोड्ने पहुँच मार्गसमेत बाढीको जोखिममा रहेको बताए।

दोधारा चाँदनीलाई जोड्ने चार लेनको पक्की पुलसँगैको बाँधको डिजाइन स्वीकृतिमा ढिलाइ हुँदा निर्माण कार्य रोकिएको महाकाली पुल निर्माण कम्पनीले जनाएको छ। सुरुमा २५० किलोग्रामभन्दा बढी तौलका ढुङ्गा प्रयोग गरी पुलको दुवैतर्फ पोखरीको गाइडबन्ड बनाउने डिजाइन थियो। ठूला ढुङ्गा नपाइएपछि ग्याबिन जाली र प्लम्ब कङ्क्रिट प्रयोग गरिएको थियो। पुल निर्माण कम्पनी कुमार श्रेष्ठ सिएफइसी जेभीका इन्जिनियर किशोर पाण्डेयले गत भदौको बाढीले २६० मिटर बाँध भत्काएको बताए। “बाढीले बाँध भत्काएपछि महाकाली पुल योजना कार्यालय र विभागबाट गाइडबन्डको डिजाइन संशोधन गर्नुपर्ने भन्दै प्रक्रिया अघि बढेको थियो। हालसम्म डिजाइन स्वीकृत नहुँदा काम गर्न कठिनाइ भएको हो,” उनले भने, “स्वीकृत डिजाइन नआउँदासम्म काम गर्न सकिँदैन।”

उनले काम छिटो सम्पन्न गर्न कार्यालयलाई पटकपटक ताकेता गरेको बताए। “बर्खा नजिकिएको छ, त्यसअगावै हामीले बाँध निर्माण गर्न सकेनौँ भने अहिलेसम्म निर्माण भएका सबै संरचना जोखिममा छन्,” पाण्डेयले भने। महाकाली नदीमा निर्माण भएको ८०० मिटर पुलको दुवैतर्फ दुई हजार ७०० मिटर लम्बाइ र ६०० मिटर चौडाइका पोखरी निर्माणाधीन छन्। पक्की पुल, पहुँच मार्ग र गाइडबन्डलगायत ९५ प्रतिशत काम सकिएको छ। अब २०० मिटर पहुँचमार्ग कालोपत्रे र गाइडबन्डको काम मात्र बाँकी छ।

महाकाली पुल योजना कार्यालय महेन्द्रनगरका अनुसार गत कात्तिक २२ मा आयोजनाको म्याद सकिएको छ। पाँचौँ पटक थपिएको समयमा पनि काम सम्पन्न हुन नसकेपछि निर्माण कार्य ठप्प बनेको हो। महाकाली पुल योजना कार्यालय महेन्द्रनगरका इन्जिनियर सन्तोष चन्दले म्याद थपका लागि मन्त्रिपरिषद्मा प्रस्ताव गएको जानकारी दिए। “म्याद थप भएपछि मात्रै डिजाइन र भेरिएसनको काम हुन्छ, अहिले म्याद थपको प्रक्रियामा छ। अहिले निर्माणको काम ठप्प छ,” उनले भने। विसं २०७४ मा तीन वर्षभित्र निर्माण सक्ने गरी रु तीन अर्ब २७ करोडमा कुमार श्रेष्ठ सिएफइसी जेभीसँग सम्झौता भएको थियो। सम्झौताअनुसार ८०० मिटर लामो चार लेनको पुल, आठ किलोमिटर पहुँच मार्ग र पुलको वारिपारि चार पोखरी निर्माणको काम २० भदौ २०७७ मा सकिनुपर्ने थियो।

पाँचपटक म्याद थप हुँदासमेत सबै संरचना निर्माण हुन सकेका छैनन्। छैटौँपटक म्याद थपको प्रक्रियामा छ। सम्झौता हुँदा पुल र पहुँचमार्गसहितका संरचना निर्माणको लागत रु तीन अर्ब २७ करोड थियो। पछिल्लो पटक डिजाइन परिवर्तन हुँदा लागत बढेर रु तीन अर्ब ७६ करोड पुगेको छ।

 

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *